काठमाडौं- राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिता अन्तर्गत बिहीबार सम्पन्न खेलमा बेदकोट नगरपालिका र सुनकोशी गाउँपालिकाले जित निकालेका छन्।
ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा बेदकोट नगरपालिकाले बराहक्षेत्र नगरपालिकामाथि ३–० को जित निकालेको हो। सुरुआतबाट नै हावी भएको बेदकोटले पहिलो हाफमा निकालेको नतिजा नै जितका लागि पर्याप्त बनेको हो।
कप्तान निलम सिंहले दोस्रो मिनेटमा गरेको गोलबाट अग्रता लिएको बेदकोटका लागि २९औं मिनेट व्यक्तिगत दोस्रो गोल गरेकी थिइन्। त्यस्तै पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा शोभा क्षेत्रीले टोलीका लागि तेस्रो गोल थप्दा बेदकोटले पहिलो हाफमा ३–० को अग्रता लिएको थियो।
दोस्रो हाफमा बराहक्षेत्र खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन र बेदकोटले पहिलो हाफमा निकालेको नतिजा पर्याप्त बन्यो।
छनोट प्रतियोगिता अन्तर्गत आजै भएको अर्को खेलमा सुनकोशी नगरपालिकाले धरान एसएमसीलाई ४–१ ले पराजित गर्यो। यस खेलमा अनु लामा वुमन अफ दि म्याच घोषित भइन्।
यस्तै, यसअघि स्थगित भएको छैटौं नम्बरको खेलमा काठमाडौंले सिमकोट गाउँपालिकालाई ९–० गोल अन्तरले पराजित गर्यो। काठमाडौंको जितमा जेनिफर रानाले ४ गोल गरिन। सरस्वती आयरले ह्याट्रिक पूरा गर्दा गरिमा राई र मनिषा थापा मगरले एक/एक गोल गरे।
जितसँगै समूह ई को काठमाडौंले २ खेलमा ४ अंक जोड्यो। तर, काठमाडौंले नकआउट चरणमा स्थान बनाउन सकेन। यस समूहबाट इलामको रोङ गाउँपालिकाले नकआउट चरणमा यस अघि नै प्रवेश गरेको छ। रोङले २ खेलमा ४ अंक जोड्यो। तर, रोङ गोल अन्तरमा अघि रहदै नकआउट चरणमा पुगेको हो।
प्रतियोगितामा भोली ३ खेल हुनेछन्। दिनको पहिलो खेल हेटौडा र तुलसीपुर नगरपालिका, दोस्रो खेल पोखरा र विरेन्द्रनगर नगरपालिका तथा दिनको अन्तिम खेल धनगढी उपमहानगरपालिका र गोकर्णेश्वर नगरपालिकाबीच खेल हुनेछ।
३१ टोलीले प्रतिस्पर्धा गरिहेको प्रतियोगितामा सहभागी टोलीलाई एन्फाले १० समूहमा विभाजन गरेको छ। प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।