काठमाडौं– प्रभु बैंकले फोन पेसँगको सहकार्यमा नगद कारोबारलाई क्रमशः विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने उद्देश्यले नक्सालस्थित भाटभटेनी सुपर मार्केटमा कारोबार गर्दा क्यूआर कोडमार्फत् भुक्तानी गर्ने प्रणाली सञ्चालनमा ल्याएको छ।
बिहीबार भाटभटेनीको प्राङ्गणमा आयोजित एक समारोहबीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्यूआर कोड पेमेण्ड सिस्टमको उद्घाटन गरेका हुन्।
सोही क्रममा गभर्नर अधिकारीले नेपालको बैंकिङ क्षेत्रमा सूचना प्रविधिको उच्चतम् प्रयोगबाट समग्र आर्थिक कारोबारमा सरलता र सहजता आएको सन्दर्भ जोड्दै प्रभु बैंक र फोन पेको संयुक्त पहलमा भाटभटेनी सुपर मार्केटमा हुने आर्थिक कारोबारका लागि नगदै बोक्नुपर्ने झण्झट हटेको बताए।
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बैंकले सूचना प्रविधिको अधिकतम् प्रयोग गर्दै ग्राहकहरुलाई समयसपेक्ष नवीनतम् बैंकिङ सेवा प्रवाहमा कटिबद्ध रहेको बताए।
'अत्याधुनिक प्रविधिको उच्चतम् प्रयोग गर्दै समग्र ग्राहकहरुको चाहनालाई पहिलो प्राथमिकतासहित गुणस्तरीय एवं विश्वसनीय बैंकिङ सेवा उपलब्ध गराउँदै आएको प्रभु बैंक र सूचना प्रविधिको क्षेत्रमा विगत लामो समयदेखि क्रियाशिल फोन पेबीचको समन्वयमा सञ्चालित क्यूआर कोड सेवा मार्फत् डिजिटल बैंकिङ सेवा उपभोग गरी नक्साल भाटभटेनी सुपर मार्केटमा आर्थिक कारोबार गर्ने सम्पूर्ण उपभोक्ता तथा ग्राहकहरुले अधिकतम् लाभ लिनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ,' बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।