काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बिमा शुल्क (प्रिमियम) भुक्तानी ई-सेवाबाट गर्ने बीमितमध्येबाट पहिलो लक्की ड्र-मार्फत् विजेतालाई आईफोन-१२ प्रदान गरिएको छ।
नेपाल लाइफको कार्यालयमा एक कार्यक्रमबीच उक्त पुरस्कार प्रदान गरिएको हो। लक्की ड्र-मार्फत् छनोट भएका विराटनगरका विज्ञान दाहाललाई नेपाल लाइफका नायब महाप्रबन्धक अमित केयलले आईफोन-१२ प्रदान गरे।
कम्पनीका नायब महाप्रबन्धक केयलले डिजिटल प्लाटफर्ममार्फत् प्रिमियम भुक्तानी गर्दा समयको बचत र झण्झटबाट मुक्त हुनुका साथै ई-सेवाले ग्राहकहरुलाई यस किसिमका उपहार प्रदान गर्दा डिजिटल पेमेन्टमा आकर्षण बढ्ने धारणा व्यक्त गरे।
आईफोन-१२ प्राप्त गरेपछि दाहालले १० वर्षअघि बिमा गरेको पोलिसीको प्रीमियम समय र सहजतालाई ध्यान दिइ ई-सेवाबाट भुक्तानी गर्दा लक्की ड्रको बारेमा जानकारी नभएको बताए। तर जब ई-सेवाबाट तपाईं लक्की ड्र-मार्फत् छनोट हुनुभएको छ भनी फोन आउँदा सरप्राइज भएको जानकारी दिए।
आफ्ना बीमितहरुलाई सरल र सहज सेवा प्रदान गर्न नेपाल लाइफले विभिन्न डिजिटल पेमेन्ट सिस्टम तथा डिजिटल वालेटहरुसँग बिमा शुल्क (प्रिमियम) भुक्तानीको सम्झौता गरेको छ। जसले गर्दा कुनै पनि ठाउँबाट जुनसुकै समयमा बिमा शुल्क (प्रिमियम) भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको छ।
नेपाल लाइफको प्रिमियम डिजिटल वालेटहरु ई-सेवाका साथै खल्ती, कनेक्ट आईपीएस, फोन पे, आईएमई पे तथा प्रभु पे लगायतबाट अनलाइन भुक्तानी गर्न सकिन्छ। ग्राहकहरूको हितलाई ध्यानमा राखी कम्पनीले समयसापेक्ष आवश्यकता अनुसार सेवा तथा सुविधामा परिमार्जन एवं परिष्कृत गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।