काठमाडौं- गएराति सम्पन्न रायो भालेकानोसँगको खेलमा पराजय बेहोरेसँगै स्पेनिस क्लब बार्सिलोनाले आफ्ना प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको छ।
गएराति सम्पन्न खेलमा बार्सिलोना भालेकानोसँग १–० ले पराजित भएको थियो। त्यसअघिको खेलमा रियल मड्रिडसँग २-१ गोलअन्तरले पराजित भएको थियो।
बार्सिलोनाले जारी सिजन १० खेलबाट मात्र १५ अंक जोडेर तालिकाको नवौं स्थानमा छ। यता, च्याम्पियन्स लिगमा पनि दुईवटा खेलमा पराजय बेहोरिसकेको छ।
क्लबका अध्यक्ष जोआन लापोर्टाले भालोकानोसँगको पराजयपछि कोम्यानलाई निर्णयबारे जानकारी दिएका थिए। बार्सिलोनाको विज्ञप्तिमा भनिएको छ, ‘कोम्यानले बिहीबार टिमलाई गुडबाइ भन्ने छन्।’
बार्सिलोनाको प्रशिक्षकमा नियुक्त भएको १४ महिनापछि कोम्यान क्याम्प नोउबाट बाहिरिएका हुन्। यसैबीचमा बार्सिलोनाले आफ्नो पूर्वमिडफिल्डर जाभी हर्नान्डेजलाई प्रशिक्षक बनाउने पनि हल्ला चल्न थालेको छ।
स्पेनिस खेलकुद अनलाइन मार्काका अनुसार लापोर्टाले जाभीलाई आफूले चाहेको व्यक्तिको रूपमा क्याम्प नोउ भित्र्याउन चाहेका छन्।
एट्लेटिको मड्रिडससँग पराजय हुनुभन्दा अघिदेखि नै उनले जाभीलाई क्लबमा भित्र्याउन चाहेका थिए। त्यसयता उनी जाभीसँग सम्पर्कमा रहेको बताइन्छ।
जाभीलाई क्लबमा भित्र्याउनसके बार्सिलोनाको गुज्रिरहेको खराब लयमा सुधार आउने अपेक्षा लापोर्टोले गरेका छन्।
यता, जाभी पनि बार्सिलोना फर्कन तयार रहेको बताइएको छ। यद्यपि, कतारी क्लब अल साद एससीसँग रहेको सम्झौताले जाभीलाई असर गर्ने देखिएको छ।
अल सादको प्रशिक्षक रहेका जाभीले २०२३ सम्म सम्झौता गरेका छन्। उनी २०१९ देखि यस क्लबको मुख्य प्रशिक्षकका रुपमा काम गरिरहेका छन्।
गत सिजन नै बार्सिलोनाले जाभीलाई मुख्य प्रशिक्षकको रुपमा टिममा भित्र्याउन चाहेको थियो। यदि बार्सिलोना जानुपर्ने अवस्थामा अल साद छोड्नसक्ने मिडिया रिपोर्टहरु सार्वजनिक भएका थिए।
यद्यपि, उनले यी रिपोर्टहरुलाई अस्वीकार गरेका थिए। किके सेटिएनले बार्सिलोना छाडेपछि जाभीलाई प्रस्ताव आए पनि उनले नमानेपछि कोम्यानलाई जिम्मेवारी दिइएको थियो।
अहिले कोम्यानसको बर्खास्तीपछि उनलाई नै बार्सिलोना आफ्नो मुख्य प्रशिक्षकको रुपमा हेर्न चाहन्छ। तर, जाभी तत्कालै बार्सिलोना आउन सम्भव भने नरहेको मार्काले जनाएको छ।
बार्सिलोनाले उनलाई भित्र्याउन बाँकी रहेको सम्झौताबाट अलग गर्न अल सादसँग वार्ता गर्नुपर्दछ। यद्यपि, उनी नोभेम्बरमा अर्को अन्तर्राष्ट्रिय विश्रामको समयमा बार्सिलोना पुग्ने छन्।
त्यसअघि बार्सिलोनाले अलाभेस, डायनामो किभ र सेल्टा भिगोविरुद्ध तीन खेल खेल्ने छ। एक अन्तरिम प्रशिक्षकको रुपमा उनले सम्भवतः ती खेलहरूको जिम्मेवारी लिने आकलन गरिएको छ।
त्यसभन्दा अगाडि बार्सिलोनाको जिम्मेवारी बार्सिलोनाको ‘बी’ टिम हेरिरहेका सर्गी बारजुआन र अल्बर्ट कापेलास हेर्म्समध्ये एकले लिने चर्चा चलेको छ।
बुधबार राति कोम्यान बर्खास्तीमा परेपछि बारजुआनलाई बार्सिलोनाको अन्तरिम मुख्य प्रशिक्षकको रुपमा हेरिएको थियो।
तर, कापेलासलाई पनि एक विकल्पको रूपमा बार्सिलोनाले राखेको बताइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।