काठमाडौं- भारतको मुम्बई र पुणेमा आयोजना हुने एएफसी महिला एसियन कप २०२२ को समूह विभाजन सार्वजनिक भएको छ।
एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले बिहीबार समूह विभाजन गरेको हो। एएफसीले प्रतियोगितामा सहभागी हुने १२ टोलीलाई ३ समूहमा विभाजन गरेको छ।
समूह ‘ए’ मा आयोजक भारत, चीन, चाईनिज ताइपे र इरान रहेका छन्। यस्तै, समूह ‘बी’ मा अष्ट्रेलिया, थाइल्याण्ड, फिलिपिन्स र इन्डोनेसिया रहेका छन्।
समूह ‘सी’ मा साविक विजेता जापान, दक्षिण कोरिया, भियतनाम र म्यानमार रहेका छन्।
प्रतियोगिता जनवरी २० देखि फेब्रुअरी ६ सम्म मुम्बईस्थित अँधेरी स्पोर्ट्स कम्प्लेक्स र पुणेस्थित शिव छत्रपति सिंह स्पोर्ट्स कम्प्लेक्समा आयोजना हुनेछ। एएफसीले प्रतियोगिताको छनोट चरणमा सहभागी हुने २८ टिमलाई ८ समूहमा विभाजन गरेको थियो।
भारत आयोजकका रूपमा तथा अघिल्लो संस्करणका शीर्ष ३ टोली जापान, अस्ट्रेलिया र चीन भने सिधै छनोट भएका थिए।
छनोटको समूह ‘एफ’मा रहेको नेपालले उज्वेकिस्तानको तास्केनमा फिलिपिन्स र हङकङको सामना गरेको थियो। फिलिपिन्ससँग २–१ ले पराजित भएको नेपालले हंङकङसँगको खेलमा गोलरहित बराबरीको नतिजा निकालेको थियो। यद्यपि, सन् ८० र ९०को दशकमा यसै प्रतियोगिताको तीन छनोट संस्करण खेलेको नेपाल छनोट हुन सकेन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।