काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिगको साविक विजेता मछिन्द्र फुटबल क्लबले नयाँ सिजनका लागि डिफेन्डर छिरिङ गुरुङलाई अनुबन्ध गरेको छ।
यसअघि च्यासल युथ क्लबबाट लिग खेलेका छिरिङलाई मछिन्द्रले अनुबन्ध गरेको बिहीबार जनाएको छ। २३ वर्षीय छिरिङले मछिन्द्रसँग एक वर्षको सम्झौता गरेका छन्।
छिरिङले गत चैतमा राष्ट्रिय टिमबाट थ्री नेसन्स कपको उपाधि जितेका थिए। यस्तै, जेठमा सम्पन्न पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) उनले काठमाडौं रेजर्सबाट खेलेका थिए। काठमाडौंले एनएसएलको उपाधि जितेको थियो।
साविक विजेता मछिन्द्रले उपाधि रक्षा गर्ने लक्ष्यका क्लबका खेलाडीहरुको सम्झौता नवीकरण गर्ने र नयाँ खेलाडीहरु अनुबन्ध गर्ने काम तीव्र बनाएको छ। मछिन्द्रले विदेशी कोटामा अजरबैजानको उमेर समूहको राष्ट्रिय टिमबाट खेलिसकेका फरवार्ड नुर्लान नोभ्रुजोभ र डिफेन्डर सादिक गुलिभलाई अनुबन्ध गरिसकेको छ।
यस्तै, राष्ट्रिय टिमका युवा स्टार मनिष डाँगीलाई पनि मछिन्द्रले अनुबन्ध गरिसकेको छ। सुनिल बल पनि मछिन्द्रमा अनुबन्धित भइसकेका छन्। उनी गत सिजन च्यासलबाट खेलेका थिए।
यसैगरी, मछिन्द्रले गोलकिपर विशाल श्रेष्ठ र सूर्य अधिकारी, डिफेण्डर रञ्जित धिमाल र देवेन्द्र तामाङ, मिडफिल्डर विशाल राई र सुजल श्रेष्ठ तथा फरवार्ड रेजिन सुब्बा र अभिषेक रिजालसँग सम्झौता नवीकरण गरिसकेको छ।
यस सिजनको ‘ए’ डिभिजन लिग कात्तिक २९ गतेबाट सुरु हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।