काठमाडौं– स्पेनिस ला लिगामा रियल म्याड्रिड बराबरीमा रोकिएको छ। आइतबार ‘एल क्लासिको’मा बार्सिलोनालाई हराएको रियल म्याड्रिड घरेलु मैदानमा ओसासुनासँग गोलरहित बराबरीमा रोकिएको हो।
स्टेडियो सान्टियागो बर्नबेउमा बुधबार राति भएको खेलमा ओसासुनालाई बल पोसेसनमा दवावमा राखेपनि फिनिसिङमा चुक्दा रियल बराबरीमा रोकिन बाध्य बन्यो।
बराबरीपछि रियल १० खेलबाट २१ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ। समान २१ अंक नै रहेपनि सेभिया, रियल बेटिस र रियल सोसिडाड शीर्ष चारमा रहेका छन्। ओसासुना १९ अंक जोडेर छैटौं स्थानमा रहेको छ।
अर्काे खेलमा बार्सिलोना रायो भालेकानोसँग १–० ले स्तब्ध बनेको छ। बार्सिलोनालाई स्तब्ध पार्न पहिलो हाफमा राडामेल फल्काओको गोल नै निर्णायक बन्यो। उनले ३०औं मिनेटमा गोल गरेका थिए।
बार्सिलोनाको यो लगातार दोस्रो हार हो। यसअघि बार्सिलोनाले रियल म्याड्रिडसँग २–१ को हार बेहोरेको थियो।
हारपछि बार्सिलोना १० खेलबाट १५ अंक जोडेर नवौं स्थानमा यथावत रहँदा रायो भालेकानो ११ खेलबाट १९ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।