काठमाडौं – साविक विजेता म्यानचेस्टर सिटी इंग्लिस फुटबल लिग कप (कारवाओ) कपको प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको छ। लगातार चार पटकको च्याम्पियन सिटी वेस्टह्याम युनाइटेडसँग पेनाल्टी सुटआउटमा ५–३ ले पराजित हुदै अन्तिम १६ बाटै बाहिरिएको हो।
वेस्टह्यामको मैदानमा बुधबार राति भएको खेलको निर्धारित समय र अतिरिक्त समयमा कुनै गोल निस्कन नसकेपछि खेल पेनाल्टीमा धकेलिएको थियो। जसमा घरेलु टोलीले बाजी मारेको छ । पेनाल्टीमा घरेलु टोलीका सबै पाँच खेलाडीले गोल गर्न सफल भए।
मार्क नोव्ले, जरोड वोवेन, क्रेइग डावसन, आरोन क्रेसवेल र सेड बेनरहमाले गोल गरे। सिटीको पहिलो पेनाल्टी असफल भएको थियोे। क्लबका फिल फोडेनले गोल गर्न सकेनन्। जोओ क्यान्सेलो, गाब्रियल जेसस र ज्याक ग्रेलिसले गोल गर्न सफल भएपनि हार टार्न सकेन।
अर्काे खेलमा टोटेनहम हटस्परले बर्नलेलाई १–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको छ। लुकास मोउराले ६८औं मिनेटमा गरेको गोल नै टोटेनहमलाई अन्तिम आठमा पुग्न पर्याप्त बन्यो।
अर्काे खेलमा प्रिमियर लिग क्लब ब्रेन्टफर्डले च्याम्पियनसिप क्लब स्टोक सिटीलाई २–१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको छ। ब्रेन्टफर्डको जितमा सेर्गी कानोस र इभान टोनीले गोल गरे। स्टोकका रोमाइनी सयर्सले एक गोल फर्काए।
यो सँगै कारवाओ कपको क्वाटरफाइन समीकरण पुरा भएको छ। आर्सनल, चेल्सी, सन्डरल्यान्ड, लेस्टर, लिभरपुल, टोटेनहम, ब्रेन्टफर्ड र वेस्टह्यामले अन्तिम आठमा स्थान बनाएका छन्। क्वाटरफाइनल ‘ड्र’ आइतबार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।