काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा)सँग थप तीन वर्षको नयाँ सम्झौता गरेका छन्।
बुधबार अल्मुताइरीले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एसोशियसन (क्युएफए)का पदाधिकारीहरुसँगको छलफलपछि थप ३ वर्षको लागि नयाँ सम्झौता गर्ने निर्णय गरेको जानकारी दिएका हुन्।
उनले नेपाल फर्किन सहयोग गरेकोमा कतार फुटबल संघलाई धन्यवाद दिएका छन्। यस्तै, उनले नेपाली फुटबलका लागि आगामी २ वर्षको योजना बनाएको पनि जानकारी दिएका छन्।
'हामी हाम्रो लक्ष्य र आगामी २ वर्षको योजना छिट्टै प्रकाशित गर्नेछौं। म वाचा गर्छु, नेपाली फुटबलको भविष्य राम्रो हुनेछ। तर, हामीलाई समय दिनुहोस्,' उनले भनेका छन्।
उनले आफू र आफ्नो खेलाडीलाई नेपाली फ्यानहरूको साथ र माया चाहिएको पनि बताएका छन्। यता, एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले पनि प्रशिक्षक अल्मुताइरीसँग नयाँ सम्झौता भएको जानकारी दिए।
'उहाँसँग पहिला नै एक वर्षको सम्झौता बाँकी छ। अहिले थप दुई वर्ष गरी तीन वर्षको सम्झौता भएको हो। उहाँ अबको तीन वर्ष नेपाल बस्नुहुन्छ,' शेर्पाले नेपाल लाइभसँग भने।
यसअघि अल्मुताइरीसँग एक वर्षको सम्झौता गरेपनि एन्फाले खुलाएको थिएन। गत महिना सम्पन्न साफ च्याम्पियनसिप अन्तर्गत बंगलादेशविरुद्धको खेल सकिएपछि अल्मुताइरीले आफूले एक महिना अगाडि नै राजीनामा दिएको खुलासा गरेका थिए।
त्यही विवादको क्रममा एन्फा महासचिव इन्द्रमान तुलाधरले नेपाल लाइभसँगको कुराकानीमा अल्मुताइरीसँग एक वर्षको सम्झौता भइसकेको खुलाएका थिए।
यद्यपी, उनले सम्झौता कहिले गरेको खुलाएका थिएनन्।
सन् २०२१ को मार्चमा नेपाल आएका अल्मुताइरीले नेपाललाई गत महिना सम्पन्न साफ च्याम्पियनसिपको उपविजेता बनाएका थिए। नेपाल इतिहासमा पहिलोपटक साफको फाइनलमा पुगेको थियो।
उनको नेतृत्वमा नेपालले जेठमा इराकविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो। त्यसपछि, नेपाली फुटबल टोलीले अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेविरुद्ध विश्वकप तथा एसियन कप छनोटको समूह चरण खेल उनकै नेतृत्वमा खेलेको थियो।
यस्तै, भारतविरुद्ध भदौमा दुई मैत्रीपूर्ण खेल र गत साता साफ च्याम्पियनसिपका ५ खेल खेलेको थियो। इराकविरुद्धको मैत्रीपूर्ण खेल ६–२ ले गुमाएको नेपालले छनोटमा चाइनिज ताइपेलाई २–० ले हराएको थियो।
अष्ट्रेलिया र जोर्डनविरुद्धको खेल नेपाल समान ३–० ले पराजित भएको थियो।
भारतविरुद्ध दशरथ रंगशालामा भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले १–१ को बराबरी खेलेको थियो। यस्तै, दोस्रो खेलमा २–१ ले पराजित भएको थियो।
साफमा सुरुवाती दुई खेलमा माल्दिभ्सलाई १–०, श्रीलंकालाई ३–२ ले पराजित गरेको नेपालले अर्को खेल भारतसँग १–० ले गुमाएको थियो।
राउन्ड रोविनको अन्तिम खेलमा बंगलादेशसँग १–१ को बराबरी खेल्दै नेपाल फाइनल पुगेको थियो।
तर, नेपाल फाइनलमा भारतसँग ३–० ले पराजित भएको थियो। नेपालसँग समग्रमा अल्मुताइरीको नतिजा ११ खेलमा ३ जित, २ बराबर र ६ हार रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।