मेरो धारणा थियो, मानिसहरु कुनै व्यक्ति वा वस्तुप्रति प्राधिकार जमाउन दुई किसिमको दुष्टता गर्छन्। पहिलो, ऊ आफैँ यति निर्बल र कमजोर बन्न खोज्छ कि ऊमाथि उब्जिएको संवेदना वा दयाको कारण त्यस व्यक्तिले ऊप्रति झुकाव राख्न विवश हुन्छ। दोस्रो, ऊ आफ्नो चाहनाको वस्तुलाई यति शिथिल र निस्कृय बनाइदिन्छ कि त्यसले आश्रय खोज्नु एक मात्र विकल्प हुन जान्छ।
सधैँ इसारा गर्ने नगिसाका आँखाहरु कुनै एक समय मसँग जुद्धा रित्तो दुविधाबाहेक केही बोक्दैन थिए। उसलाई म जानी-नजानी पन्छाइदिन सक्थेँ। उसको एक्लोपनले मलाई प्रभाव पार्दैन थियो। न त उसको छातीमा व्याकुल भइरहेको यौवनको संवेग विस्तारै उदासीनता र मनोरोगमा परिणत हुदै गहिरहेको कुरा मलाई ज्ञात थियो।
नगिसा बाल आश्रमको अन्तिम विद्यार्थी थिई। भेरी जिल्लाको एकलास जंगलबीच धेरै समयपहिले एउटा पर्यटकले सानो बासस्थान बनाएको थियो। उसको देहान्तअघि उसले आफ्नो बासस्थानलाई अनाथालय बनाउने योजना बनायो। त्यस पर्यटकका अनुसार ऊ ती बच्चाहरुलाई यस्तो परिवेश दिन चाहन्थ्यो, जहाँ तिनले आधुनिक उपकरणलाई छोडेर सरल गाउँले जीवनशैली अपनाउने मौका पाउन्। तर, निकै थोरै बालबालिका थिए, जो सहरको विभास छोडेर यहाँ आउन मान्थे।
पछि यस आश्रमका लागी दान वा सरकारी सहयोग आउन छोड्यो। आश्रममा जम्मा पाँच जना बाँकी थिए। त्यहाँ 'केयर टेकर' को पोस्ट खुलेको थाहा पाएपछि मैले पनि आवेदन भरेँ। मेरो जागिर पक्का भएको बखतसम्म ती पाँचमध्ये तीन जना बाहिरीसकेका थिए। एक जना कुनै रोगको कारण हस्पिटलमा राखिएको थियो र उही मात्र बाँकी थियो। पर्यटकको परिवारले त्यस एक जनाको केही बन्दोबस्त नभएसम्म उसलाई त्यहीँ राख्ने भनेका थिए। मैले सुनेबमोजिम ती बालिकालाई पनि त्यहाँबाट कतै अरु ठाउँ जाने इच्छा छैन। बाँकी मलाई मेरो कामबारे केही जानकारी थिएन। आवेदन भर्ने बेलाको मेरो मनस्थितिले त्यसको धेरै जिज्ञासा पनि राखेन।
कहालीलाग्दो सल्ला, सिसौ, देवदार, शिरीष इत्यादीका झ्याङहरु, भिरालो र जीर्ण खोल्साहरु, पशुपक्षीको उराठलाग्दो चिच्याहट, सिरेटोको जंगली सुसेली, जनावरको डर... त्यस पर्यटकको घरमा यदि केही बाँकी थियो भने, त्यो मात्र लामो पर्खाइ थियो कि कुनै निवेदन आउने छ, हामी विकशित समाजमा हुने छौँ र त्यसैको गति समात्ने प्रयास पूर्ण आरम्भ हुने छ। पर्खाइ, कि यहाँ आउनुअघि हामी जुन संस्कारमा नि:सर्त हुर्किरहेका थियौं, यहाँको अनुभवले त्यसलाई सहन गर्न सिकाउने छ। तर, वर्तमनमा.. यी वनस्पतिबीच समन्वय भएर बसेको एउटा रहस्य हाम्रो छायाँहरुलाई छुन खोज्छ। एकान्तमा, संवादमा र दैनिक परिचालनमा यसै पछ्याइरहन्छ।
सात महिनासम्म म यो भवनको शून्यतालाई निल्दै र आफ्नो आवाजको प्रतिकारलाई थुन्दै यस विकट स्थलमा अडिरहेकी थिएँ। अब त म केवल जागिरको आवश्यकताले यहाँबाट निस्किन नसकेको भन्नु पनि झूट भइसक्यो। नगिसा र मबाहेक हामीसँग एकजना भान्छे दाइ बस्नु हुन्थ्यो। सेतै फुलेको दारी र दुर्बल भइरहेको ज्यान, जसका लागि बुढेसकालको संकेत सधैँ उहाँभन्दा एक कदमअगाडि हुन्छ। जो आफ्नो बुढ्यौलीको गन्धप्रति पराजित भइरहेझैँ कुनै अलोक शोकमा डुबिरहन्थे, त्यस्तो शोक जुन मात्र न्यून भविष्य हुनेले मनाउन सक्छन्। तर, त्यस शरीरका केही भागहरुमा मासुको घनताले गर्दा लाग्थ्यो, अझै जवानी सेलाएको छैन, त्यस नसाहरुमा अझै उत्कण्ठा भर्न सकिन्छ। त्यस आँखामा धर्मराइरहेको अँगारलाई केही छिन बचाउन सकिन्छ। उनका हातहरु अझै परिचालित यन्त्रझै सबै काम गर्दथे। लाग्थ्यो, उनी कर्तव्यबाट च्युत भए भने घाटको चित्रले उनलाई सताउन थाल्थ्यो। त्यसैले एक दिन उनले मलाई भनेका थिए, 'पुरुष मान्छे यस्तो ठाउँमा बस्न सक्दैन, जहाँ उसको बलको उपयोग नहोस्। अर्को हप्ता पनि आवेदन आएन भने म यहाँबाट आफैँ निस्किने छु।'
‘पुरुष’, ‘बल’, ‘उपयोग’ मलाई एकाएक उनीदेखि अफ्ठ्यारो लागेको थियो। संसर्गको चाहनाले मलाई नलठ्याएको होइन, तर मेरो मर्यादाले म भन्दा दोब्बर उमेरको मानिससँगको त्यस सम्भावनालाई तुच्छ भनिदिन्थ्यो। म ती चाउरिन थालेका, लगभग विचेतन हुन लागेका छाला मेरो शरीरसँग परिशीलन भएको सोच्दा बारम्बार आतंकित भइरहन्थे। यस कारण म सधैँ उनको अघि आफूलाई सम्हाल्न पुग्थे। तर, कहिलेकाहीं आकाङ्क्षाले चिमोट्दा म उसको जराग्रस्त अनुहारलाई बिर्सिएर उनको बाहुपासमा समेटिएको कल्पना गर्थें। किन-किन उनको धीर भइरहने हातले मलाई अनौठो तवरले प्रलोभित गर्यो। म चाहन्थेँ, त्यस हातले मेरो शरीरभरि सुम्सुमाओस् , त्यस हातले मेरो छातीभरि बासना छरोस्, त्यस हातद्वारा मेरो अंगहरुमा तृष्णा र आवेगका निशानहरु छोडियोस।
तर, त्यस बखतको कामना निकै चाँडै सेलाउँथ्यो र रातभर म कुन्नि कस्तो परितापमा कुँजिरहेकी हुन्थे। प्रत्येक सोचाइको लहर भयानक निष्कर्षमा पुगिदिन्थ्यो। बिहान अनिन्द्राको दाग आँखामुनि राखेर उनीसँग भेट हुदा, भान्छे दाइको वास्तविकताको झट्कारोले म हायलकायल हुन्थे। म उनको हातलाई हरिरहन हिच्किचाउँथे। के हामी एउटा न्यानो घर बसाउन सक्दैनौं? के हामी यस पद्धतिलाई भाँचेर नयाँ आयाम सृजना गर्न सक्दैनौं? के हामी प्रेम जस्तो केही बहाना बोकी यहाँबाट निस्किएर सरल जीवन काट्न सक्दैनौं? म उनलाई यी प्रश्नहरु कहिल्यै सोध्दिन। दिनभर आफ्नो कामवासनालाई केही संयमित पार्न म पनि आवृत्त भइदिन्थेँ, नगिसा जस्तै, भान्छे दाइ जस्तै आफ्नै एकान्तमा... विकल्प थियो.. शहर जाने, यो स्थान छोडिदिने तर....
मेरो लागि यो स्थान केवल पलायन थिएन।म किन व्यवस्थित गरौं आफूलाई सहरको व्यवसायिक जीवनपद्धती अनुरुप र बेचौं आफ्नो सारा महत्त्वकांक्षा? जहाँको सिस्टम र स्ट्यान्डर्डप्रती मलाई वितृष्णा छ, जहाँको फुटपाथ, महङ्गो पसल, अनावश्यक सुविधाका ब्रान्ड, अग्ला भवन र कार्यालय, सभ्यताको घटिया विज्ञापन र उपयोगी समाजको नमूनाबाहेक केही लाग्दैन। जहाँको निति नियमप्रति मेरो कुनै दिलचस्पी छैन। किन भड्किरहूँ म शहरका अस्वच्छ गल्लीहरुमा? त्यसको विपरीत म एक्लो हुन चाहन्थेँ, नितान्त एक्लो र अप्रतिबन्धित। यति एक्लो कि म आफ्नै छायाँलाई साथी बनाऊँ र दुश्मन पनि उसैलाई। यति एक्लो कि म निरर्थक संवाद पनि आफैसँग गरुँ र मौनताले आफैँलाई तड्पाई रहूँ।
शरदको अन्तिम पातहरु रुखका हाँगालाई बिदाइ गर्दै झरिरहेका थिए। बगैंचामा गोडेका फूलहरुमा पनि कुनै बैभव बाँकी थिएन। भग्नावशेष भवनमा अडिएको यो आश्रम पनि अन्तिम शैयामा रहे झैँ निश्तेज टोलाइरहेको थियो। यद्यपि, कहिलेकाहीं यो विस्तृत जंगलभित्र रहेको भवन पनि त्यसैमा समेटिन खेजिरहेको भान पस्थ्यो। आदिकालीन मानिसहरु जसरी प्रकृतिप्रति उदार रहन्थे, त्यसरी नै म पनि विनाविद्रोह यस जंगलबीच आबाद हुने प्रयास गर्दै थिएँ। यसैको विशालता र विविधतामा अचम्मित हुँदै, तर्सिंदै र रुमलिँदै, मैले आफूलाई बचाउने चेष्टा गरिरहेँ।
त्यसै समयतिर नगिसामा निमोनियाँका लक्षणहरु झनै प्रष्ट हुने गरि देखिन थाले। ऊ दुब्लाउँदै गहिरहेकी थिई। उसको खानाप्रतिको रुचि घट्दै थियो, ज्वरो र खोकीले निरन्तर सताइरहन्थ्यो। गला तलका हाड गहिरो देखिन थालिसकेका थिए। आँखामुनि कालो डाम बसिसकेका थिए। हात, खुट्टा लुलो हुँदै गहिरहेका थिए। ऊ दिनभर ओछ्यानमै जडवत् रहन्थी र रातभरि उसलाई खोकी, ज्वरो र रुघाले पिरोल्थ्यो। तर, शहरमा उपचार गराउन लाने योजनालाई उसले अस्वीकार गरिरही। न कुनै चिकित्सकलाई ऊ देखाउन मान्थी। भान्छे दाइ हप्तैपिच्छे बजार जान्थे। आवश्यक सामाग्री र औषधि लिएर आउँथे, जसबाट हाम्रो निर्वाह र नगिसाको हेरविचार हुने गर्थ्यो। ऊ दिनदिनै झनै कमजोर बन्दै गइरहेकी थिई। सामान्य काम गर्न पनि उसलाई सकस पर्थ्यो। तर, अहँ.. उसमा स्वस्थ हुने कुनै आशा थिएन। न उसलाई त्यस ठाउँबाट निस्किने चाहना नै थियो। के उसलाई नवीनतादेखि डर लाग्थ्यो? के उसमा बाँच्ने प्रेरणाहरु भंग भइसकेको थियो? उसले हामीलाई कहिल्यै कुनै स्पष्टीकरण दिइन्।
उसको केही लक्षणहरु कहिलेकाहीं निवारण त हुन्थ्यो, तर म विश्वस्त थिएँ नगिसा कहिल्यै पूर्णरूपमा स्वस्थ हुने छैन। यो रोग वातावरणको प्रवाह, शारीरिक संकेत भन्दा पर.... आन्तरिक मनसँग सम्बन्धित छ। तर, उसले सधैँ आफ्नोअघि यति बाक्लो पर्दा झारिदिएकी हुन्थी कि त्यसलाई छिचोलेर उसलाई नाङ्गो देख्न, स्पष्ट देख्न, उसलाई अलङ्काररहित पहिल्याउन असम्भव प्राय: हुन जान्थ्यो। तसर्थ, उसको सामान्य हेरविचारबाहेक हामी उसको पद्धतिमा संलग्न हुन सक्दैन थियौं। ऊ स्वयंले आफूलाई यति लापरबाहीका साथ छोडिदिएकी थिई कि उसको मनस्थितिलाई चल्मलाइदिने, उसमा दृष्टिकोणहरु थप्ने जस्ता काम हामीलाई अरुको गोपनीयतालाई हनन गरेझैँ लाग्थ्यो।
-ऊ यस्तै रहिरहोस्... शुष्क, विमनस्क, हतास... वसन्तको बोझहीन फल समयअघि नै ओइलाओस्, सानो सरसराहट मै झरोस्, भुईंमा दबियोस् र म पोल्टाभरि जीवन संगालेर पाइला अगाडि बढाइरहू... कहिलेकाहीं म यस्तै कल्पना गर्थेँ।
सायङ्काल रातको पूर्णसुचना बोकेर ढोकाबाट छिरिदिन्थ्यो। पश्चिमपट्टिको कोठामा नगिसा शान्त मुद्रामा बसिरहेकी हुन्थी। भँगेरा, काग, सारौं, जुरेली, सुँगा सुसेल्न थालिरहेका हुन्थे। आकाशले आफूलाई गाढा नीलो रङमा पोतिरहेको हुन्थ्यो। म उसको सामु औषधि र पानी राखिदिन्थेँ। ऊ एकदम अप्ठ्यारो मान्दै औषधि मुखमा हाल्थी, मानौं ती सबै व्यर्थे भइरहेका छन्। उसको अविकशित छातीमा यसै यसै मेरा आँखाहरु रोकिन्थे। उसको लामो कालो कपाल सिरानीभरि छरपस्ट हुन्थे। उसको आफ्नो शरीरप्रतिको असावधानी देख्दा आफैँलाई असहज लाग्थ्यो। कृषकाय, धीर र सादा हातगोडा भित्रभित्र आफैंमा बिखलबन्दमा परेजस्तो देखिन्थे।
उसका गाढा खैरा आँखा जहाँ कुनै विभूति छैन, कुनै सपनाको झलक छैन। मसँग उसलाई सम्झाउनका लागि, उसलाई बुझ्नको लागि प्रसंगहरु केही थिएन। केही छिन म उसलाई निहालिरहन्थे र कुनै भावनात्मक आबेगबाट विचलित हुन लागेर मनलाई सम्हाल्दै बोल्थेँ, 'नगिसा!'
उसका गाढा खैरा आँखा जहाँ कुनै विभूति छैन, कुनै सपनाको झलक छैन। मसँग उसलाई सम्झाउनका लागि, उसलाई बुझ्नको लागि प्रसंगहरु केही थिएन। केही छिन म उसलाई निहालिरहन्थे र कुनै भावनात्मक आबेगबाट विचलित हुन लागेर मनलाई सम्हाल्दै बोल्थेँ, 'नगिसा!'
ऊ आँखा पल्टाएर मलाई हेर्थी। किन म प्रती कहिल्यै उसको उत्सुकता रहेन?
'के तिमीले त्यस पर्यटकलाई चिनेकी थियौ, जसले यो आश्रम खोलेका थिए?'
उसले मबाट आँखा हटाएर भनी, 'चिनेकी थिएँ।'
'कति वर्षसम्म?' मैले प्रश्नमा जो दिएँ।
'म १० वर्षसम्म हुँदा उहाँ यहीँ हुनुहुन्थ्यो। मेरैअगाडि उहाँको मृत्यु भएको हो।'
त्यसपछि मैले थप सोधखोज गर्ने आवश्यक ठानिनँ। ऊ अनाथ छे भन्ने यथार्थमा जोडिएको सहानुभूति उसले पक्कै ग्रहण गर्ने छैन। सायद त्यसैले ऊ मबाट तर्किन खोज्थी। मैले उसलाई अपनाउनु पर्ने बाध्यतासँग ऊ असन्तुष्ट थिई वा ममाथि भरोसा गर्नु त्यस्तो कुनै विशेषता पाउँदिन थिई। ऊ बिस्तारै खाटबाट उठेर टेबलसम्म आउँथी, त्यहाँ राखिएको कापीमा चित्र कोर्न थाल्थी। झ्यालनिर बसिरहेको मलाई ऊ बिलकुल वास्ता गर्दिन थिई। म त्यहाँबाट जान सक्थेँ, तर मलाई संगतको प्यास लाग्थ्यो, आफू जस्तै एउटा सिङ्गो सग्लो मानिसको .. म सोच्न थाल्थेँ.. कसरी ऊ सधैँ आफूलाई पोख्न सक्छे बाङ्गाटिङ्गा धर्साहरुमा, कुनै परिकल्पनाको चित्रणमा, केही रचना गर्नुपर्ने भावमा.. र सधैँ कसरी म यही भिन्नताले उबाट छुटि्टन्छु अनन्त दोबाटोमा।
मलाई नियास्रो लाग्थ्यो र म झ्यालबाहिर चिहाउन थाल्थेँ। मौसम अझै निरसताको पराकाष्ठामा पुगिसकेको थिएन। आकाशको धमिलोपनअघि जति आँखा फिजाए पनि, जति हात थापे पनि थोपाको चिसो स्पर्श टासिँन आउदैन थियो। लाग्थ्यो, आकाश उर्लिएर खसोस्, घनघोर वर्षा होस्। तर, हेमन्त ऋतु यहाँको परिवेशमा गुम्सिएको भान पर्यो। मानौं ऊ कुनै अस्वभाविक आगमन हो, जसको प्रत्येक चालसँग सतर्क हुनुपर्छ।
यहाँ हाम्रो दुस्साहसहरु बिहानको घामले शीतलाई सोसेझैं पग्लदै जान्छ। र हामी समर्पण गरिदिन्छौं घटनाविहीन जिन्दगीलाई.. कुनै वस्तु वा विषयले आह्लादित नगर्दै, कुनै नौलोपनको प्रमाण नखोज्दै, कुनै उद्देश्यप्रति व्यस्त नहुँदै, मात्र। आफूभित्रको आन्दोलनलाई जिउन खोजिरहेको तन्तु भएर छातीभरि छामिरह्यो, मात्र छामिरह्यो। हामी रङ्गमञ्चका ती पात्र हौं, जसले आफ्नो हरफहरु बिर्सिसकेका छन्। हामी त्यो संगीतकार हौं, जसले आफ्नो लय भत्काइरहेको छ।
हामी त्यो कथाकार हौं, जसले आफ्नो कलम समात्न छोडिदिएको छ। यिनै शृङ्खलाको माध्यमबाट हामी बाचिरहेका छौं। ऊ यस कारण मरेकी छैन कि, उसले जिन्दगीको लय अझै समात्न सकेकी छैन। उसले मृत्युको स्वरुपलाई पहल्याउन सकेकी छैन। जुन दिन उसको वस्त्रलाई र छालालाई चिर्दै विशाल निरर्थकताको बोधले अठ्याउने छ, ऊ मानव अस्तित्वप्रति घृणाले पिल्सिदै यहाँको भित्ताहरु फोर्ने कोशिश गर्ने छे। सम्भवतः ऊ आफ्नो मृत्युप्रति मोहित हुने छे। मलाई लाग्दैन, उसमा त्यतिको सहास छ कि, ऊ यस रिक्ततामा आफूलाई बचाउन सक्छ।
बगैंचाको एक छेउमा बसेर म दोस्रो तलाको झ्यालमा टोलाइरहेकी नगिसालाई हेरिरहेकी थिएँ। हावाको बहावमा सुस्तरी हल्लिरहेको पर्दा नगिसालाई कहिले छेक्दै, कहिले देखाउँदै थियो। बूढो वरको हाँगाहरु उसको झ्यालछेउ पुग्न थालिसकेका थिए। रुखमा लहरा र जराहरु अत्यधिक झुन्डिएका थिए। केही लहराले जमिन छोएको थियो र त्यहींबाट नयाँ हाँगाह पलाउन थालेका थिए। रुखलाई पहिल्यै पुज्ने गरेको अवशेष त्यहाँ बाँकी थियो। केही ठाउँमा रातो अबिरका दागहरु भेटिन्थे। सानो डोरीले त्यसको मुख्य हाँगालाई बेरिएको थियो। अहिले सायद त्यहाँको देवता शान्त छन् वा त्यसले आफू पुजिएको बिर्सिसकेको छ। यो विशाल रुख आफैँमा अजंगको जंगल जस्तो देखिन्छ।
रातमा सधैँ लहराबीच बास बस्न कोही आउँछ जस्तो लाग्थ्यो। सायद यस कारण कि यिनका प्राण छ र प्रत्येक प्राण हुनेले आफूलाई कुनै न कुनै किसिमले प्रस्फुटित गर्छन्। मलाई थाहा छ, म यो रुखको भाषा ठम्याउन सक्दिनँ। नगिसा त्यसै रुखतर्फ हेरिरहेकी थिई। दिउँसोको प्रगाढ घाममा उसको यो एकनास टोलाइ कुनै स्वप्न जगतबाट उतारिएको तस्बिर जस्तो लाग्थ्यो। त्यस बखत उसको अनुहारमा एक प्रकारको विरानो झलक थियो, जो सामान्य जीवनबाट छुट्टिएर, सामान्य रेखदेखबाट हटेको हुन्छ। त्यस्तो अपनत्वहीन भाव मात्र समाजको छत्रछायाँबाट बञ्चित मानिससँग हुन्छ। त्यो प्राकृतिक धैर्यता, रहस्यमय भाववङ्गी, अन्तरमुखी स्वभाव इत्यादि। ऊ यस परिवेशसँग असन्तुष्ट देखिन्थी। ऊ आफैसँग असन्तुष्ट देखिन्थी..। उसको मन बहलिन खोजिरहेको जस्तो लाग्थ्यो, तर यहाँबाट ऊ किन निस्किन चाहन्न?
'अब ऊ त्यहाँबाट हाम फाल्ने छे...'
अचानक मेरो अन्तरमनमा त्यस्तो विचार पलायो। हावाको झोँका झनै तीव्र भइरहेको थियो।
'ऊ झ्यालबाट त्यसै रुखको पात सरह भुईंमा झर्ने छ। उसको शरीर जमिनमा कुहिने छ र त्यहीं रुखको जराझैँ त्यहाँ नयाँ पालुवा उम्रिने छ।'
म यही सम्भावनाले कम्पित हुन थालेँ। मेरो आँखा उसैमा केन्द्रित थिए। आफूलाई सम्हाल्दै म त्यस घटनाप्रति आशातित हुन थालेँ। एउटा साङ्घातिक प्रहारको अभिलाषाले मलाई ऊ भुईमा रगतले लेपिएकी, लत्पतिएकी, अन्तिम सास तानिरहेकी हेर्न तयार पारिरह्यो। ऊ झ्यालबाट हटसकेककी थिई। तर म त्यहीँ बसिरहेँ। हावाको चिसोपनले हिर्काइरहेको थियो। त्यसै झ्यालको कोठाभित्र म कुनै आकृति सिलिङमा झुन्डिरहेको देख्छु। मेरो टाउको जोडजोडले दुख्न थाल्छ। घटनाहरुको यस्तो अप्रत्यासित क्रमले मलाई पिरोल्छ। मबाट शरीरको नियन्त्रण हराउँदै जान्छ। म भासिँदै जान्छु स्मृतिको कालो अँध्यारो इनारभित्र...।
समय यसरी नै कहिले पनि पूर्णरूपमा नवीन बन्दैन र म कहिल्यै पनि वर्तमानको धरातलमा आफूलाई स्थापित गर्न सक्दिनँ।
वास्तवमा मृत्युको यति भयानक स्वरुप कसैले पनि देख्न नहुने हो। आफ्नो आमाको घाँटीमा बेरिएको डोरीले आफ्नै सासलाई तानिरहे जस्तो, सिलिङमा झुन्डिएको लासले आफ्नै वर्तमानलाई सीमाबद्द गरे जस्तो, हरेक रमाइला क्षणहरु भ्रममा मिसिरहे जस्तो..। मृत्युको भीष्म आभा शरीरमा फैलिनु र त्यसको उपस्थितिले आफ्नो काँध बोझिलो लाग्नु... वास्तवमै एउटी १२ वर्षीय किशोरीको मानसपटलबाट त्यो स्मृति मेटाउनु पर्ने हो। नत्र ऊ सारा उमंगलाई बिर्सिएर मात्र आगतलाई अङ्गाल्ने छ। नत्र, समयको मापदण्डलाई बिर्सिएर, उसको उमेरले सधैँ त्यस लासअघि घुँडा टेकिदिने छ। ऊ आफैंलाई पिन्जरामा थुनिएको जीव ठान्ने छ र बिस्तारै उसलाई परिचयदेखि डर लाग्ने छ।
चेतना फेरि अस्पष्ट हुन थालिरहेको थियो। म आफ्नै परिबन्धमा छु र आफैँलाई त्यसबाट फुकाउन निर्दोष प्रमाणित गर्न सक्दिनँ। म न्यायाधीश बनी ठोस निर्णय सुनाउन सक्दिनँ। म अनायसै जंगलको गोरेटो बाटोतर्फ मोडिन्छु। त्यो आश्रम जति मसँग असम्बन्धित लाग्छ, त्यति नै यो जंगल पनि अपरिचित बनेको छ। यहाँ पनि प्रजनन् र विनाशको तादात्मतासँग म सायद वंशात्मक गुणका कारण प्रलोभित हुन्छु। तर यी रुखहरुबीचको कस्तो इतिहास छ, यहाँको बाटोमा कसको विचरण दबेको छ, यसको गर्भमा कस्तो भाषा निर्मित भइरहेको छ, पहिल्याउन डराउँछु। यो पहाडमा अज्ञानता छ, अकथित गाथा छ, अदम्य चरित्र छ। पुरानो प्रगाढ डर, अपमान र शोषणका शेषहरु, विकारयुक्त व्यवहारको संस्मरण, पलायन र त्यसबाट साहसी हुन नसक्नुको विफलता जसले हामीलाई अविकसित छोडिदिन्छ.. र ती आफैँसँग गरिने मनोविश्लेषण हुन्। जहाँ यिनै विषय बारम्बार दोहाेरिन्छ। जहाँ यसैमा हामी अल्झिन्छौं, यसैबाट आफूलाई मुल्यांकन गरिदिन्छौं। जब यि बिस्तारै सतहमा आउन थाल्छन्, म यिनको स्वरुपलाई निस्कासित गर्न कुनै भरपर्दो माध्यम भेट्टाउँदिनँ।
यो पहाड मेरो यिनै अवचेतनाको प्रतिबिम्ब हो। जति जति म यहाँ भड्किदै जान्छु, त्यति नै तीव्रसँग एउटा कालो आकृति मेरो अन्तस्करणको कणकणमा प्रक्षेपित भइरहेको पाउँछु। मेरो मुटुमा त्यसले आक्रमण गरिरहेको छ। मेरो मस्तिष्कमा त्यसले ओडार जमाइरहेको छ। के अब मैले आफूलाई जोगाउने, सम्हाल्ने, स्वच्छ पार्ने उपायहरु बनाउन पर्दैन? तर, चेतनाशून्य हुनमा जुन मुक्ति छ, विध्वंसको तापमा जुन आनन्द छ, विषले मस्तिष्कको अविराम तर्कलाई थामिदिँदा हुने मुक्ति, आफूलाई नैतिक तहबाट पतनतर्फ उन्मुख हुँदाको मुक्ति, आफ्नो अघि सधैँ आलोचनात्मक दृष्टि राख्ने ऐनालाई नकार्न सक्ने मुक्ति... सारा अपराधलाई मस्तिष्कमा बेहोरेर हिनताबोध गर्न नपर्ने मुक्ति... यसमा कसरी केही खोट हुन सक्छ? यिनै विरोधाभासबीच म एउटा पति सम्झन्थेँ।
'Before you kill the monster, you have to say its name'.
आऊ नगिसा, ममा फेरि त्यही आबेगहरुको सञ्चार गरिदेऊ। म यो आलस्यलाई छोडेर नवीन अनुभूति बाँच्न चाहन्छु। तर... तर मलाई थाहा छैन नगिसा, म केदेखि यति आत्तिइरहेकी छु। मैले कुन सीमारेखा पार गर्नुपर्ने हो?
त्यस लासअघि नि:शब्द थामिएकी किशोरीले कहिल्यै अभिव्यक्तिको भाषा नै जानिन। उसले कहिल्यै आफ्नो स्थायित्व बनाउन सकिन। म उसको अघि जति याचना गरुँ, जति सन्तप्त रहूँ, ऊ मलाई सधैँ अपराधिको नजरले हेर्छ र मेरा कुराहरुप्रति सशंकित रहन्छ।
त्यस लासअघि नि:शब्द थामिएकी किशोरीले कहिल्यै अभिव्यक्तिको भाषा नै जानिन। उसले कहिल्यै आफ्नो स्थायित्व बनाउन सकिन। म उसको अघि जति याचना गरुँ, जति सन्तप्त रहूँ, ऊ मलाई सधैँ अपराधिको नजरले हेर्छ र मेरा कुराहरुप्रति सशंकित रहन्छ।
म हिँड्दा हिँड्दै सानो पोखरीनिर आइपुग्छु। यो पोखरीपारि बजार झर्ने बाटो छ। मेरो नजिक एउटा सानो डुङ्गा राखिएको छ। म निरन्तर क्षितिजतर्फ हेरिरहन्छु। मलाई झनै टाढाका दृश्यहरु हेर्ने अभिलाषा जाग्छ। जसले यस पृष्ठभूमिको हदलाई नाघ्न सकोस्। मलाई यो पानीमा तरङ्ग उठेको हेर्न मन लाग्छ। मलाई यो परिवेश बदल्न मन लाग्छ। तर यहाँको जमिनले मेरो खुट्टाहरु सिलाइदिएका छन्। मैले त्यसलाई काटिदिनु पर्छ।
त्यसपछि नगिसाको गलेको हात र गोडा धुमिलो आकृति जस्तो भएर मलाई छिचोल्दै त्यही पोखरीमा मिसिन थाल्छ। म त्यस एक टुक्रा भ्रमलाई पन्छाउन नसकेर आश्रमतर्फ लाग्छु।
आश्रम पुगेपछि थाहा पाएँ, आफूलाई जोगाउन नसकेर भान्छे दाइ त्यहाँबाट भागिसकेका थिए। उनी हुदाँ एक किसिमको सुरक्षा रहन्थ्यो। उनी रहुन्जेल आफ्नो मनोरुग्णतालाई म विश्लेषण गर्न सक्थेँ, एउटा पर्खाललाई म पहिचान गर्न सक्थेँ। उनको अनुपस्थितमा म झनै बाँधिएको महसुस गर्छु। मानौँ मेरो भयको सत्यता झनै नजिक सरेको छ।
नगिसालाई औषधि दिन उसको कोठामा छिर्दा एक किसिमको बासी गन्ध व्याप्त थियो। ऊ तर्सिए झै खाटको देब्रे कुनामा बसिरहेकी थिई। ऊ रजस्वला भएको मैले थाहा पाएँ। उसमा असहजता र लज्जाको भाव प्रष्टै देखिन्थ्यो। तन्दामा रगतको टाटा बसेको थियो। ममा त्यति बेला पनि उसलाई सौहार्दपूर्ण स्पर्श गर्ने हिम्मत आएन। लाग्थ्यो, मेरो स्पर्शले ऊ बिग्रिने छे, म आफ्नै हातले उसलाई बिगार गर्न सक्छु। हामी आफूलाई बचाउन एकअर्कासँग छुट्टिनै पर्छ। मैले आफ्नो कोठाबाट प्याड ल्याएर उसलाई दिएँ। ऊ मसँग आँखा जुधाउन सकिरहेकी थिइन। ऊ चुपचाप त्यहाँबाट उठ्छे। घाइते हरिण झैँ म उसलाई देख्छु। आफ्नो नौलो परिवर्तनसँग झस्किरहेकी। ऊ तन्दा निकाल्छे, दराजबाट केही कपडा निकाल्छे र सरासर बाथरुमतर्फ लाग्छे। त्यतिखेर ममा अनौठो विभोरताले घेर्छ। ऊ त्यस्तो शुष्क अवस्थामा पनि लुगा धुन थालिरहेकी थिई। मलाई असह्य हुन थाल्छ। म खाना बनाउन किचेनतर्फ झर्छु।
किचेनमा भान्छे दाइलाई नदेख्दा मन पोल्न थाल्छ। लाग्छ, त्यहाँका हरेक सामाग्रीमा उनको केही इम्प्रेशन छोडेर गएका छन्। कताकता म उसलाई नजानिँदो तरिकाले खोज्न थाल्छ। हामी एक्लो भए पनि हामी एक्लै थिएनौं। ममा केही सल्किए जस्तो लाग्छ। कसैले अस्वीकृत गरिएकी बेहुली जस्तो, कुनै बिग्रिएको गृहस्थीलाई असफल टाल्न खोजिरहेकी विवाहिता जस्तो.. मलाई आफ्नो अस्तित्वमाथि दिक्दार लाग्छ। म प्रेमिका हुन सक्दिनँ, म राम्रो अभिभावक हुन सक्दिनँ, म आफैँप्रति इमान्दार छैन। आफूभित्रको नारी अस्मितालाई मैले थाम्न सकेकी छैन। न उसमा कोमलता दिन सकेँ, न सहनशीलता। म आफूमा ती कुराहरु पाउँदिन, जुन एउटी नारीको शोभा मानिन्छ। ममा कुनै आश्रय छैन। म कसैमा संयोजोन भइ आत्मासँग एकाकार हुन सक्दिनँ। म भित्रको नारीमा कुनै स्भाविमान छैन।
खाना लिएर नगिसाको कोठामा जाँदा ऊ बाथरुममै थिई। उसको टेबलमा खाना छोपेर राखिदिएँ। बाथरुमबाट कोही सुँक्सुकाइरहेको आवाज आइरहेको थियो। म थप हस्तक्षेप गर्न चाहन्नँ। चुपचाप त्यहाँबाट आफ्नै कोठामा हिँडिदिन्छु।
म निद्राको मध्यस्ततिर थिएँ। मेरो शरीर लोलाइरहेको थियो र सपनामा प्रवेश गर्न लागिरहेकी थिएँ। अचानक मेरो शरीरमाथि कसैले थिचिरहेको जस्तो भान भयो। मलाई सास फेर्न गाह्रो भइरहेको थियो। मैले आफ्नो शरीरलाई चलाउन, आफूलाई पूर्ण बिउँझाउन प्रयास गरेँ। तर, हलचल गर्न सकिरहेकी थिइनँ। मैले चिच्याउन खोजेँ, तर आवाज निस्किएन। त्यस आकृतिले झनै जोडसँग थिचिरह्यो। मलाई ऐठन भइरहेको थियो। मेरो सारा शरीर दुखिरहेको थियो। म एकदम भयवित हुँदै थिएँ। एकैछिन म आफ्नो अंगहरुलाई बिउँझाउने प्रयास गरेँ र बलपूर्वक उसको पाखुरा समाएँ। उसलाई जोडसँग समाउँदै म उठ्ने प्रयास गरेँ।
म देख्छु उसले कालो कपडा लगाएकी थई र उसको अनुहारमा मेरो झझल्को थियो। ऊ निरन्तर मेरो गला दबाइरहेकी थिई। मैले उसलाई उतानो पारेँ र प्रतिकृयामा उसको घाँटी दबाउन थालेँ। ऊ छट्पट गर्न थाली। उसको कालो रङको लुगा बिस्तारै सेतोमा परिणत हुन थाल्यो। उसको अनुहार बदलिन थाल्यो र त्यो बिस्तारै नगिसाको जस्तो हुन थाल्यो। उसको कालो लामो कपाल खाटभरि फिँजियो। ऊ मलाई ठूलाठूला नेत्रले खाउँला झैँ गरेर हेरिरहेकी छे। म बल लगाएर उसलाई थिच्छु। ऊ चिच्याउदिनँ। झन्झन् उसको आँखामा चुनौती र क्रोध देखा पर्छ। ऊ त्यो नगिसा जस्तो लाग्दैन, जो आज पहिलोपटक रजस्वला भएकी थिई। ऊ हिंस्रक देखिएकी छे। उसमा संयमता हराएको छ। ऊ दारा किटिरहेकी छे। मलाई डरले आकुलव्याकुल बनाउन थाल्छ। म उसलाई रोक्न असक्षम रहन्छु। एकपटक फेरि होसमा आउने प्रयास गर्छु। सपना भंग हुन्छ र बिउँझिन्छु। मलाई लागिरहन्छ, कोही मेरो छेउमा बसेर यो सबै गतिविधि हेरिरहेको छ। अन्धकारले छोपेको यस कोठाको चारैतिर म आफ्नो आँखा दौडाउँछु। अहँ केही पनि देखिँदैन।
त्यस बखत म केदेखि डराइरहेकी थिएँ, केदेखि भागिरहेकी थिएँ, अनभिज्ञ थिएँ। यति हो कि ममा कौतुहलता थिएन, म जान्न चाहन्न थिएँ त्यो के वस्तु थियो जसले यी प्रकरणहरु भइरहेका छन्।
म बिस्तारै सिरानीनेर राखेको चक्कु निकाल्छु र त्रसित मुद्रामा नगिसाको कोठाको ढोका उघार्छु। खाटको देब्रे कुनामा ऊ निदाइरहेकी थिई। त्यस उजाड कोठामा मात्र उसलाई चिन्न सकिन्थ्यो। म बिस्तारै छेउमा जान्छु। पसिनाले म निथ्रुक्क भिजिरहेकी थिएँ। मात्र चक्कुलाई मैले जोडसँग समातेकी थिए। म हड्बडाइरहेकी थिए, ऊ उठ्ने छे भन्ने भयले। सायद उसले बिउँझिए पनि मसँग केही याचना मागेकी भए म उसलाई छोडिदिन सक्थेँ। तर, अहँ ऊ शान्त थिई, मानौ ऊ मर्नको लागि समर्पित भइसकी छे र म मात्र कुनै नियुक्त गरिएको काम गर्न जाँदै छु। उसमा वर्णन योग्य केही थिएन।
मैले अन्तिम साहस बटुलेर उसको छातीमा चक्कु घोपिदिएँ। ऊ झस्किदै बिउँझी। उसका आँखा राता र विस्मित थिए। उसको छातीबाट रगत बग्न थालिसकेको थियो। मैले अब यो स्थितिलाई सम्हाल्न सक्नुपर्छ। उसले आफ्नो हात छातीमा रहेको चक्कुमा लगी। उसका आँखामा पानी जम्न थालेका थिए। ऊ केही बोल्न खोजे झैं लाग्थ्यो, तर मैले उसलाई फेरि प्रहार गरेँ।
बाहिरबाट जुनको मधुरो प्रकाश छिरिरहेको थियो। नगिसा जमिनमा ढलिरहेकी थिई। ऊ आफ्नो छातीबाट चक्कु निकाल्न खोजिरहेकी थिई र सफल भएकी थिइन। त्रासले जाम परेर म त्यहीं बसिरहेँ। सारा परिवेश शान्त लाग्छ। यति रित्तो लाग्छ कि म आफैंसँग तर्सिन थाल्छु। केही बेर त लाग्छ, ऊ मरेकी छैन। ऊ उठ्ने छे र स्वाभाविक अवस्थामा फर्किने छे। पश्चातापको आँधी सायद म कुरिरहेकी थिएँ। तर, त्रास यति प्रगाढ थियो कि, म त्यसको अघि लाटो भइसकेकी थिएँ। केही छिन मै नगिसाको श्वासप्रश्वास रोकिन्छ। म त्यहाँबाट निस्किन्छु। आफ्नो कोठामा आउँछु र ढोकामा चुकुल लगाइदिन्छु।
म बिउझिँदा घामका मसिना रेखाहरु कोठामा छरिन थालिसकेको थियो। नजर नघुमाउँदा थाहा पाउन सक्थेँ, मेरो नजिक एउटा आकृति बसिरहेको छ। छेउमा रहेको कुर्सीमा त्यो आकृति छ। उसको कलम पानामा घिस्रिरहेको आवाज गुञ्जिन थाल्छ। केही क्षण रोकिन्छ र फेरि सुनिन्छ। म उपट्टि ढाड फर्काएर स्वर सुनिरहन्छु।
त्यस प्रेत (सायद) सँग साक्षात हुने धृष्टता मसँग थिएन। उसको एकलापलाई हस्तक्षेप गर्न चाहन्नँ। हामीबीच एक-अर्कासँग अलिखित सम्झौता जस्तो थियो। त्यो पल मसँग उसलाई पन्छाउने साहस थिएन। उसले मलाई कतैबाट अवरोध गरेकी थिइनँ। लागेको थियो, ऊ यसरी नै बाँच्न चाहन्छे.. स्वरुपविहीन, जैविक आवश्यकता भन्दा पर..
मैले सुनेकी थिएँ, मरेपछि पृथ्वीलोकबाट जानुभन्दा अघि एकचोटि मान्छेको आत्मा (यदि आत्मा हुन्छ भने) फर्केर आउँछ। त्यसको प्रमुख उद्देश्य केही अपूरो कामको पूर्ति वा जिउँदोहरुको बीच आफ्न भूतपूर्व अस्तित्वको अन्तिम प्रमाण बचाउनु हुन्छ।
नगिसा यहाँ फर्कनुको के प्रयोजन थियो?
निस्तब्धता... लाग्थ्यो मलाई कसैले जमिनबाट तान्न खोजिरहेको छ र म अन्जानमै उम्कने प्रयास गरिरहेकी छु। आफ्नो हरियो रङको स्वीटर समाउँदै म उठेँ। चिसोको कारण लाग्थ्यो सबै सामग्री जमिसकेका छन्। पर्दा थोरै उघारेर बाहिर निहालेँ। परिवेश एकदम मौन थियो। टाढा आधुनिक बत्ती चहकिरहेको देखिन्थ्यो, लाग्थ्यो कुनै अपरिचितलाई बाटो देखाउन बालिएको हो। कोठाको सबै सामग्री यथावत थिए। म नगिसाको कोठाभित्र छिरेँ। गन्धले कोठा निस्सासिरहेको थियो। रगत भुईंमा लत्पतिएको देखिन्थ्यो। मैले सकभर उसको लासलाई हेरिनँ। टेबलमा रहेको नोटबुक लिए र ढोका लगाइदिएँ।
सारा भवन एकदम शान्त थियो, तर रहस्यको भनक भने दिन्थ्यो। लाग्थ्यो, यहाँको हरेक झ्याल, ढोका, मोड, दलिन, भित्ता र मझेरी हिजोको घटनाको साक्षी बसेका छन्। म भान्सातर्फ लाग्छ। अगेनामा खरानीका थुप्राहरु थिए। हिजोको अँगेरी निभिसकेका थिए। मैले त्यस स्केच बुकलाई त्यसैमाथि राखिदिएँ। नजिकैको सलाई टिपेर त्यसलाई जलाइदिएँ। बाहिर आकाश गड्गडाउन थालिरहेको थियो। किताब बिस्तारै बल्न थाल्छ, टल्कन्छ, कालो हुन थाल्छ र शेषमा परिणत हुन्छ। केवल एकैछिन मलाई कसैको चैतन्यलाई जलाइरहे झैँ लाग्छ। कसैको मर्नु र बाँच्नुबीचको प्रमाणलाई मेटाइरहेझैँ लाग्छ। आगोको झिल्काले मेरो वैयक्तिकतालाई पनि पोलिरहन्छ। तर, अब म पानालाई पूर्णजागरण गर्न सक्दिनँ, न विशाल जंगलबीच रहेको यस घरको कोठामा कुहिरहेको निर्जीव शरीरलाई ...
हजारौं थोपाहरु पोखरीमा बसिरहेको बखत मैले डुङ्गाको सहाराले त्यस ठाउँलाई सधैंको निम्ति छोडिदिएँ। नगिसाको स्मृतिहरुले अब मलाई मानसिक पीडा दिन कम गरिसक्यो। अब ऊ कुनै रहस्यमय छायाँ बनेर मलाई हतास पार्दिनँ। अब उसलाई मैले आफैँभित्र समागम भइसकेको महसुस गर्छु। ऊ यसरी टाँसिएकी छे कि, म आफ्नै प्रतिबिम्बमा उसलाई देख्छु र ऊसँग प्रतिकार गर्नुअघि आफ्नो नाम लिन्छु।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।