काठमाडौं- सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राजीनामा दिनुको विकल्प नभएको निष्कर्ष निकालेका छन्।
बुधबार दिउँसो छलफलमा जुटेका सर्वोच्चका न्यायाधीशहरुले प्रधानन्यायाधीशको राजीनामामा अडिग रहने निष्कर्ष निकालेको बैठकमा सहभागी एक न्यायाधीशले बताए।
यसअघि मंगलबार न्यायाधीशहरूले प्रधानन्यायाधीश राणाका कारण न्यायालय बदनाम भएको निष्कर्ष निकालेका थिए। सर्वोच्चका १५ जना न्यायाधीशहरूको संयुक्त छलफलले राणाले राजीनामा दिनुको विकल्प नरहेको निष्कर्ष निकालेको थियो।
मंगलबार प्रधानन्यायाधीश राणालाई भेटेर उनीहरुले राजीनामा गर्न सुझाएका थिए। तर, राणाले आफूले राजीनामा नदिने र दिनेनै भए विवादमा परेका सवै न्यायाधीहरुले राजीनामा दिनुपर्ने तर्क गरेका थिए।
राणाको जवाफपछि उनीहरु मंगलबार पनि छलफलमा जुटेका थिए।
बुधबार प्रधानन्यायाधीश राणाले संवैधानिक इजलास र आफ्नो एकल इजलाससहित ११ पेसी तोकेपछि न्यायाधीशहरु पुन छलफलमा जुटेका थिए। न्यायाधीशहरु छलफलमा जुटेसँगै उनीहरुको इजलास प्रभावित भएको छ।
छलफलमा राजीनामाको पूर्ववत् अडानबाट पछि नहट्ने बारे छलफल भएको थियो। बैठक सकिएसँगै न्यायाधीशहरु फुलकोर्टमा सहभागी भएका छन्।
सर्वोच्चका पूर्व न्यायाधीश शारदाप्रसाद पण्डितको निधन भएको र त्यसमा शोक प्रस्ताव पारित गर्न फुलकोर्ट बसेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।