काठमाडौं- एएफसी यू २३ एसियन कप छनोट अन्तर्गत इरानविरुद्ध खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको सुरुवाती ११ सार्वजनिक भएको छ। समूह ‘बी’ को पहिलो खेलमा नेपाल र बलियो इरानबीच प्रतिस्पर्धा हुन लागेको हो। खेल नेपाली समय अनुसार दिउँसो ४ः४५ बजे सुरु हुनेछ।
प्रशिक्षक बालगोपाल महर्जनले इरानविरुद्धको खेलको लागि अर्पण कार्कीको कप्तानीमा सुरुवाती ११ सार्वजनिक गरेका छन्। टोलीको आक्रमण अभिषेक रिजाल र मनिष डाँगीले सम्हाल्ने छन्।
उनीहरुलाई आयुष घलान,सुरज जिउ ठकुरी र सेसेहाङ आङदाम्बेले साथ दिने छन्। एएफसी यु–२३ एसियन कप छनोट कात्तिक ८ गतेदेखि १४ गतेसम्म हुँदैछ।
छनोटमा समूह ‘बी’ मा नेपालले इरानसँगै आयोजक ताजिकिस्तान र लेवनानसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले दोस्रो खेल कात्तिक ११ गते ताजिकिस्तान र कात्तिक १४ गते लेबनानसँग खेल्नेछ।
एएफसीले प्रतियोगिताको छनोटमा सहभागी ४१ टोलीलाई ११ समूहमा विभाजन गरेको छ। पूर्वका १९ र पश्चिम क्षेत्रका २३ गरेर ३ वा ४ टोलीसहितको ११ समूह निर्धारण गरिएको हो। समूह ‘के’ बाट उत्तर कोरियाले नाम फिर्ता लिएपछि उक्त समुहमा तीन टोली छन्। त्यस्तै, समूह एफमा पनि चीन र ब्रुनाईले नाम फिर्ता लिएका छन्। प्रतियोगिता सन् २०२२ को जुन १ देखि १९ सम्म उज्बेकिस्तानमा हुनेछ। छनोट चरणका खेल भने २०२१ अक्टोबरमा हुँदैछ।
नेपालले हालसम्म एएफसीको यू–२३ एसियन कप प्रतियोगिताको छनोट चरण पार गर्न सकेको छैन। पछिल्लो दुई संस्करणमा नेपाली टोली जितविहिन हुँदै छनोटबाट घर फर्केको थियो।
नेपालको सुरुवाती ११
अर्पण कार्की, सुमन अर्याल, अभिशेक लिम्बु, सुरज जिउ ठकुरी, गौतम श्रेष्ठ, रोशन महारी, आयुष घलान, सेसेहाङ आङदाम्बे, एरिक विष्ट, मनिष डाँगी र अभिषेख रिजाल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।