काठमाडौं- गोदावरी नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा पहिलो जित निकालेको छ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार सम्पन्न खेलमा महालक्ष्मी नगरपालिकालाई ५-३ गोल अन्तरले पराजित गर्दै गोदावरीले पहिलो जित निकालेको हो।
गोदावरीको जितमा दावा डोल्मा लामा र एस्थर तामाङले समान दुई गोल गरिन्। यान्जोम रोकायाको नाममा एक गोल रह्यो।
महालक्ष्मीकी कप्तान सरु राईले दुई गोल गरिन्। यता,पूजा लामाले एक गोल गरिन्।
जितसँगै गोदावरीको ३ खेलमा ३ अंक पुगेको छ। महालक्ष्मीको यो लगातार तेस्रो हार हो।
समूह ए मा रहेका दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन्।
जारी प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। सहभागी टोलीलाई एन्फाले १० समूहमा विभाजन गरेको छ।
प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।