काठमाडौं– म्यानचेस्टर युनाइटेडले लिभरपुलसँग लज्जास्पद पराजय ब्यहोरेको छ। इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडमाथि लिभरपुलले ५–०को सानदार जित निकालेको हो।
आइतबार राति भएको खेलमा लिभरपुलले १० खेलाडीमा समेटिएको युनाइटेडलाई घरेलु मैदानमै ५–० गोल अन्तरले पराजित गरेको हो।
लिभरपुललाई सानदार जित दिलाउन मोहम्मद सलाहले ह्याट्रिक गरे भने नेबी केइटा र डिएगो जोटाले एक/एक गोल गरे।
केइटाको गोलसँगै लिभरपुलले खेलको पाँचौं मिनेटमै सुरुवाती अग्रता लिएको थियो। १३ औं मिनेटमा जोटाले गोल गर्दा लिभरपुलको अग्रता २–० को बन्यो।
खेलको ३८ औं मिनेटमा सलाहले गोल गर्दै टिमको अग्रता ३–०को बनाए। पहिलो हाफको इन्जुरी समयमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दा पाहुना टोली ४–० को स्थितिमा पुग्यो।
खेलको ५० औं मिनेटमा सलाहले ह्याट्रिक पूरा गरे। बाँकी दुवैतर्फबाट कुनै थप गोल हुन नसक्दा लिभरपुल ५–० ले विजयी भयो।
खेलको ५८ औं मिनेटमा युनाईटेडका क्रिस्टियानो रोनाल्डोले गरेको गोलले मान्यता पाएन। भीएआरको सहायतामा गोल गर्नु अघि रोनाल्डो अफसाइड देखिएका थिए। यस्तै खेलको ६० औं मिनेटमा पाउल पोग्बाले रातो कार्ड पाएपछि युनाइटेड १० खेलाडीमा समेटिएको थियो।
केइटामाथि फउल गरेपछि पोग्बाले रातो कार्ड पाएका हुन्। चोट बोकेपछि केइटाको स्थानमा एलेक्स चेम्बरलिन मैदान प्रवेश गरेका थिए।
जितसँगै लिभरपुल लिगको दोस्रो स्थानमा उक्लिएको छ। लिभरपुलले ९ खेलमा २१ अंक जोडेको छ। युनाइटेड १४ अंक जोडेर सातौं स्थानमा रहेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।