काठमाडौं- स्पेनिस ला लिगा अन्तर्गत सिजनको पहिलो ‘एल क्लासिको’ भिडन्तमा रियल मड्रिडले जित हात पारेको छ।
आइतबार राति क्याम्प नोउमा सम्पन्न खेलमा रियलले बार्सिलोनालाई २-१ गोल अन्तरले पराजित गरेको हो।
रियललाई जित दिलाउन डेभिड अलाबा र लुकास भाज्क्वेजले एक एक गोल गरे। बार्सिलोनाका सर्जियो अग्युरोले एक गोल फर्काए।
३२औं मिनेटमा रोड्रिगोले काउन्टर एट्याकमा उपलब्ध गराएको पासलाई शक्तिशाली प्रहारमार्फत् अलाबाले पेनाल्टी बक्स बाहिरबाट गोल गरे।
भाज्क्वेजले इन्ज्युरी समयको चौथो मिनेटमा गोल गर्दै रियलको जित पक्का गरे। खेलको अन्तिम समयमा बार्सिलोनाका अगुएरोले गोल गरेपनि रियल जित दर्ता गर्न सफल रह्यो।
जितसँगै २० अंकका साथ रियल अंक तालिकाको शीर्षस्थानमा उक्लेको छ। ९ खेलमा समान २० अंक जोडेका सेभिल्ला दोस्रो र रियल सोसिडाड तेस्रो स्थानमा छ। १५ अंकका साथ बार्सिलोना आठौं स्थानमा झरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।