काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा वाट्फोर्डले एभर्टनलाई पराजित गरेको छ। शनिबार राति सम्पन्न खेलमा खेलमा एभर्टन ५–२ गोल अन्तरले पराजित भएको हो।
घरेलु मैदानमा सम्पन्न खेलमा सुरुवाती अग्रता भने एभर्टनले लिएको थियो। पाहुना टोलीका लागि जोसुवा किङले ह्याट्रिक पूरा गरेपछि वाट्फोर्डले सानदार जित निकालेको हो।
खेलको तेस्रो मिनेटमा टम डाभिसले गोल गर्दै एभर्टनलाई अग्रता दिलाएका थिए। खेलको १३ औं मिनेटमा जोसुवाले गोल गर्दै वाट्फोर्डलाई १–१ गोलको बराबरीमा ल्याए।
पहिलो हाफ बराबरीमा सकिएको खेलको ६३ औं मिनेटमा रिचार्लिसनले गोल गर्दै एभर्टनलाई २–१ को अग्रता दिलाए। ७८ औं मिनेटमा जुराज कुकाले गोल गर्दै वाट्फोर्डलाई २–२ को स्थितिमा ल्याए।
खेलको ८० औं मिनेटमा जोसुवाले व्यक्तिगत दोस्रो गोल गर्दै वाट्फोर्डलाई ३–२ को स्थितिमा पुर्याए। ८६ औं मिनेटमा जोसुवाले ह्याट्रिक पूरा गर्दा वाट्फोर्डले ४–२ को अग्रता बनायो।
खेलको इन्जुरी समयमा इमानुएलले गोल गर्दै वाट्फोर्डलाई ५–२ को जित दिलाए। जितसँगै वाट्फोर्ड १० अंकका साथ १४ औं स्थानमा छ। पराजित एभर्टन भने १४ अंकका साथ आठौं स्थानमा छ।
लिगकै अन्य खेलमा साउथह्याम्पटन र बर्नलीले २–२ गोलको बराबरी खेले भने लिड्स र उल्भ्स तथा क्रिस्टल प्यालेस र न्युकासलले समान १–१ गोलको बराबरी खेलेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।