कास्की- गोर्खा क्लासिक नेपालले आयोजना गरेको ‘वुमन्स पावर लिफ्टिङ च्याम्पियनसिप-२०२१’ उपाधि नेहा बानुले जितेकी छन्।
पोखरा रङ्गशालास्थित बहुउदेश्यीय कभर्ड हलमा आज सम्पन्न प्रतियोगितामा नेहाले ६० केजी तौल समूहमा ‘स्क्वाड’तर्फ १२८ केजी, ‘बेन्च प्रेस’मा ७० केजी र ‘डेडलिफ्ट’मा १४३ गरी कूल ३४१ केजी भार उठाएकी थिइन्।
उनले उपाधिसँगै ८० हजार रुपैयाँ नगद र ५० हजार रुपैयाँ पर्ने आकर्षक वेल्ट पुरस्कार पाइन्। नेहा ६० केजी तौलमुनिको समूहमासमेत प्रथम स्थान हासिल गर्न सफल भइ २५ हजार रुपैयँ पुरस्कार पाएकी थिइन्।
यसैगरी प्रतियोगितामा ६० केजीमुनिको समूहमा पुनम तामाङ द्वितीय र ज्योति थापा तृतीय स्थान हासिल गर्न सफल भए। प्रतियोगिताअन्तर्गत नै भएको ६० केजीभन्दा माथिको समूहमा शर्मिला शाह प्रथम भइन् भने सीमा गुरूङ द्वितीय र कोमल थापाले तृतीय स्थान हासिल गरे।
प्रतियोगितामा ६० केजीभन्दा माथिको र ६० केजीभन्दा तल दुवै विधामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए। विजयी खेलाडीलाई गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री राजीव गुरूङ, आयोजक संस्थाका अध्यक्ष राजकुमार गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।