काठमाडौं- जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा रहेको बायर्न म्युनिखले फराकिलो जित निकालेको छ।
शनिबार घरेलु मैदान एलिएन्ज एरिना म्युनिखमा सम्पन्न खेलमा बायर्नले होफेनहाइनमाथि ४–० को एकतर्फी जित निकालेको हो।
बायर्नको जितमा सर्ज जिनाब्री, रोबर्ट लेवान्डोस्की, चुपो मोटिङ र किङ्सले कोमानले समान एक गोल गरे। खेलको आठौं मिनेटमा जिनाब्रीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिएका थिए। तर, उनको गोलले मान्यता पाएन।
यस्तै, १६औं मिनेटमा जमल मुसिएलाको पासमा जिनाब्रीले गोल गर्दै बायर्नलाई अग्रता दिलाए। ३०औं मिनेटमा लेवान्डोस्कीले थोमस मुलरको पासमा गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे।
पहिलो हाफ २ गोलले अगाडि रहेको बार्यनले दोस्रो हाफमा थप दुई गोल थप्यो। ८२औं मिनेटमा वैकल्पिक खेलाडी इरिक म्याक्सिमको पासमा मोटिङले गोल गर्दै बायर्नलाई ३–० को अग्रता दिलाए। ६५औं मिनेटमा मुलरको स्थानमा इरिक मैदान छिरेका थिए।
निर्धारित समयको खेल सकिँन तीन मिनेट बाँकी रहँदा कोमानले गोल गर्दै बायर्नलाई ४–० को सहज जित दिलाए।
यो जितसँगै बायर्न ९ खेलबाट २२ अंक जोडेर शीर्षस्थानमा यथावत् रहेको छ। पराजित होफेनआइन ११ अंक जोडेर १०औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।