काठमाडौं- नेपाल आर्मी भेट्रान्स र भनिमन्डल भेट्रान्सले ‘मेयर कप भेट्रान्स फुटबल’ प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको उद्घाटन खेलमा आर्मी भेट्रान्सले फुटबल फेलोसिपमाथि ७–१ को फराकिलो जित निकालेको हो।
आर्मीको फराकिलो जितमा विकर्ण श्रेष्ठ ह्याट्रिक गरे। हरि महतो, राजु तामाङ, जनमत कार्की र चक्र तामाङले समान एक गोल गरे। फुटबल फेलोसिपका नन्दनाथ खड्गीले एक गोल फर्काए।
अर्को खेलमा भनिमन्डल भेट्रान्सले न्युरोड टिम (एनआरटी)लाई २–० ले पराजित गर्यो। भनिमन्डलको जितमा विजय श्रेष्ठ र कृष्ण मालाकारले समान एक गोल गरे।
यस्तै, फ्रेन्ड्स भेट्रान्स र एसएनकेसीले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। फ्रेन्ड्सका तेज थापा र मनोज लामाले गोल गरे। यता, एसएनकेसीका बालगोपाल साहुखल र राजेश शाहीले गोल गरे।
प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र लगनखेलमा रहेको आर्मीको खेल मैदानमा हुनेछ। प्रतियोगिता कात्तिक १६ गतेसम्म चल्नेछ।
प्रतियोगिताका सहभागी २१ टोलीलाई ७ समूहमा विभाजन गरिएको छ। हरेक समूहको शीर्ष टोलीसँगै ७ समूहको उपविजेतामध्ये एक उत्कृष्ट टोली क्वाटरफाइनलमा पुग्नेछन्।
प्रतियोगितामा विजेता टोलीले ५ लाख तथा दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।