काठमाडौं- मेसन माउन्टको ह्याट्रिकमा चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा फराकिलो जित निकालेको छ।
शनिबार भएको खेलमा चेल्सीले पुछारमा रहेको १० खेलाडीमा समेटिएको नर्विच सिटीमाथि ७–० को फराकिलो जित निकालेको हो।
चेल्सीको जितमा माउन्टले तीन तथा कलुम हड्सन ओडोई, रिस जेम्स र बेन चिलवेलले समान एक गोल गरे। यता, एक गोल उपहार पाएको थियो। नर्विचका म्याक्स आरोन्सले आत्मघाती गोल गरे।
चेल्सीले खेलको आठौं मिनेटमा जर्गिन्होको पासमा माउन्टको गोलबाट अग्रता लिएको थियो। १८औं मिनेटमा माटियो कोभासिसको पासमा कलुम हड्सन ओडोईले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे।
पहिलो हाफको अन्त्यतिर रिस जेम्सले माउन्टको पासमा गोल गर्दै अग्रता ३–० मा पुर्याए। दोस्रो हाफमा चेल्सीले थप ४ गोल गर्यो। ५७औं मिनेटमा बेन चिलवेलले माटियो कोभासिसको पासमा गोल गर्दै चेल्सीलाई ४–० ले अघि बढाए।
यस्तै, ६२औं मिनेटमा म्याक्स आरोन्सले आत्मघाती गोल गरेपछि चेल्सीले खेलमा ५–० को अग्रता बनायो। ६५औं मिनेटमा बेन गिब्सन दोहोरो पहेँलो कार्ड पाएपछि नर्विच १० खेलाडीमा समेटियो।
८४औं मिनेटमा माउन्टले पेनाल्टी चुकाएपनि रि–पेनाल्टीमा गोल गर्दै चेल्सीलाई ६–० को फराकिलो अग्रता दिलाए। इन्ज्युरी समयको पहिलो मिनेटमा माउन्टले रुवेन लफट्स चिकको पासमा गोल गर्दै ह्याट्रिक पूरा गरेपछि चेल्सीले ७–० को फराकिलो जित हात पार्यो।
जितसँगै शीर्षस्थानमा रहेको चेल्सीले ९ खेलमा २२ अंक जोडेको छ। नर्विच २ अंक जोडेर पुछारमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।