काठमाडौं- कन्काई नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबार सम्पन्न खेलमा महालक्ष्मी नगरपालिकालाई १९-० गोल अन्तरले हराउँदै कन्काईले दोस्रो जित निकालेको हो।
कन्काईको एकतर्फी जितमा कुशुम खतिवडाले ८ गोल गरिन्। यता, दीपा शाहीले ५ तथा सिमरन राई र ममता राउतले २/२ गोल गरिन्। लक्ष्मी श्रेष्ठ र ईमा राईको नाममा १/१ गोल रह्यो।
यसअघि पहिलो खेलमा कन्काईले गोदावरी नगरपालिकामाथि १२-० को एकतर्फी जित निकालेको थियो।
प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। सहभागी टोलीलाई एन्फाले १० समूहमा विभाजन गरेको छ।
प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।