काठमाडौं– इंग्लिस प्रिमियर लिगअन्तर्गत आर्सनलले सहज जित निकालेको छ। शुक्रबार राति घरेलु मैदानमा सम्पन्न खेलमा आर्सनलले एस्टन भिल्लालाई ३–१ गोलअन्तरले पराजित गरेको हो।
आर्सनलको सहज जितमा थोमस पार्टी, पिएरे इमरिक औवामियाङ र इमिल स्मिथ रोवीले गोल गरे। एस्टन भिल्लाका ज्याकोव राम्सेले एक गोल फर्काए।
खेलको २३औं मिनेटमा थोमस पार्टीको गोलबाट आर्सनलले अग्रता लिएको थियो। उनले इमिल स्मिथ रोवीको पासमा गोल गरेका थिए। पहिलो हाफको इन्ज्युरी समयमा पिएरे इमरिक औवामियाङको पेनाल्टी भिल्लाका गोलरक्षक इमिलियानो मार्टिनेजले रोके पनि पनि रिवाउन्डमा गोल गर्दै आर्सनल पहिलो हाफमा २–० को स्थितिमा पुग्यो।
खेलको ५६औं मिनेटमा इमिल स्मिथ रोवीले गोल गर्दै आर्सनलाई सहज जिततर्फ अघि बढाए। उनले कप्तान औवामियाङको पासमा गोल गरेका थिए।
खेलको ८२औं मिनेटमा ज्याकोव राम्सेले लियोन वेइलेको पासमा गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए। त्यसपछि थप गोल हुन नसक्दा आर्सनल विजयी बन्यो।
जितसँगै आर्सनल ९ खेलबाट १४ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ। पराजित भिल्ला १० अंकका साथ १३औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।