काठमाडौं- आसन्न सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्नका लागि काठमाडौं आइपुगेका नेपाली मुलका इटालियन खेलाडी विकाश मेरालिया मेराग्लिया च्यासल युथ क्लबमा अनुबन्ध भएका छन्।
युवा स्ट्राइकर विकाशले शुक्रबार ‘ए’ डिभिजन क्लब च्यासलसँग सम्झौता गरेका हुन्। च्यासलले विदेशी खेलाडीको रुपमा उनलाई अनुबन्ध गरिएको जनाएको छ।
विकाशले एक वर्षका लागि च्यासलबाट खेल्ने छन्। उनी च्यासलबाट १० नम्बरको जर्सी लगाएर मैदान उत्रिने छन्।
नेपालको शीर्ष डिभिजनको लिग कात्तिक २९ गतेबाट सुरु हुनेछ। लिग खेल्नका लागि विकाश मंगलबार साँझ नेपाल आइपुगेका थिए।
इटालियन क्लब एट्लान्टा क्लबको युथ टिमबाट खेलेका विकाशले इटालीको यू-१६ राष्ट्रिय टिमबाट खेलिसकेका छन्।
पारिवारिक स्रोतका अनुसार सन् २००८ मा छ वर्षको उमेरमा उनलाई एक इटालियन दम्पतीले धर्मपुत्र बनाएर लगेका थिए। त्यसपछि उनी इटालीमै हुर्किएर फुटबल खेलाडी बनेका हुन्।
१९ वर्षे विकाशले एट्लान्टाको यू-१७ र यू-१९ बाट खेलिसकेका छन्। यसका साथै उनले भेनेजियाको यू-१९ टिमबाट पनि खेलेका छन्।
सन् २०२० को सेप्टेम्बरमा उनी एट्लान्टाको यू-१९ टिमबाट काटोलिका क्लबमा अनुबन्ध भएका थिए। १० महिना सो क्लबबाट खेलेपछि उनी गत जुलाईमा इटालियन चौथो डिभिजनको मेरिलियन्स क्लबमा अनुबन्ध भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।