काठमाडौं- शनिबारबाट आयोजना हुने ‘मेयर कप भेट्रान्स फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।
फुटबलर्स मिसन टुगेदरले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो।
कात्तिक ६ देखि १६ गतेसम्म हुने प्रतियोगितामा २१ टोलीले प्रतिस्पर्धा गर्दैछन्। लिगकम नकआउट प्रणालीमा खेलाइने प्रतियोगितामा सहभागि भएका २१ टिमलाई सात समूहमा विभाजन गरिएको छ।
प्रत्येक समूहका विजेता र एक उत्कृष्ट उपविजेता टिमले दोस्रो चरणमा स्थान बनाउनेछन्।
प्रतियोगिताका लागि एक टोलीमा २० खेलाडी राख्न पाइने छ। जसमा ३५ देखि ४० वर्ष उमेरसम्मका तीन खेलाडी हुनेछन्। बाँकी खेलाडी ४० वर्षभन्दा माथिको हुनुपर्नेछ।
खेलको समय अवधि ६० मिनेट (एक हाफ ३० मिनेट)को हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो। खेलमा सात खेलाडी परिवर्तन गर्न पाइनेछ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउने आयोजकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।