काठमाडौं– साविकको विजेता चेल्सीले यूईएफए च्याम्पियन्स लिगमा जित दर्ता गरेको छ। चेल्सीले स्वीडिस क्लब माल्मोलाई ४–० गोलअन्तरले पराजित गरेको हो।
चेल्सीको फराकिलो जितमा जर्गिन्होले दुई तथा एन्ड्रिएस क्रिस्टेन्सेन र काई हाभर्टजले समान एक÷एक गोल गरे। चेल्सीले पहिलो र दोस्रो हाफमा समान दुई/दुई गोल गरेको थियो।
स्टामफोर्ड ब्रिज लन्डनमा बुधबार राति भएको खेलको नवौं मिनेटमा नै चेल्सीले एन्ड्रिएस क्रिस्टेन्सेनको गोलबाट अग्रता लिएको थियो। उनले थियागो सिल्भाको पासमा गोल गरेका थिए।
चेल्सीले खेलको नवौं मिनेटमै सुरुवाती अग्रता बनाएको थियो। एन्ड्रिएस क्रिस्टेन्सेनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।
खेलको २१औं मिनेटमा जर्गिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई पहिलो हाफमा २–० को अग्रता दिलाए। चेल्सीले पहिलो हाफमै चोटका कारण रोमेलु लुकाकु र टिमो वेर्नरलाई सब्सिच्युट गर्नुपरेको थियो।
खेलको ४८औं मिनेटमा वैकल्पिक खेलाडी काई हाभर्टजले गोल गर्दै चेल्सीलाई ३–० ले अघि बढाए।उनले अर्का वैकल्पिक खेलाडी कलुम हड्सन ओडोईको पासमा गोल गरेका थिए। ५७औं मिनेटमा जर्गिन्होले पेनाल्टीमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै चेल्सीलाई ४–० को फराकिलो जित दिलाए।
समूह ‘एच’ को अर्काे खेलमा इटालियन क्लब युभेन्ट्सले रसियन क्लब जेनिथ सेन्ट पिटर्सवर्गलाई १–० ले पराजित गरेको छ। युभेन्ट्सको जितमा डिजान कुलुसेभ्स्कीले निर्धारित समयको खेल सकिन ४ मिनेट बाँकी रहँदा गरेको गोल नै निर्णायक बन्यो।
यो नतिजा पछि युभेन्ट्स ३ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ भने चेल्सी ६ अंक जोडेर दोस्रो स्थानमा छ। जेनिथ ३ अंकसहित तेस्रोमा रहँदा माल्मो अंकविहीन हुँदै पुछारमा छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।