काठमाडौं– म्यानचेस्टर युनाइटेडले यूईएफए च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति सम्पन्न खेलमा एटलान्टालाई पराजित गरेको छ।
घरेलु मैदान ओल्ड ट्राफर्डमा पहिलो हाफमा नै २–० ले पछि परेको युनाइटेडले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डाको निर्णायक गोलमा जित हात पारेको हो। युनाइटेडले दोस्रो हाफमा सानदार पुनरागमन गर्दै ३–२ को जित दर्ता गर्यो।
खेलको १५ औं मिनेटमा नै मारियो पासलीचले पाहुना टोलीलाई अग्रता दिलाएका थिए। उनले डेविड जापाकोस्टाको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए। २९ औं मिनेटमा मेरिह डेमिरालले गोल गर्दै एटलान्टाको अग्रता दोब्बर पारे। उनले तेउन कोपमिनार्सको कर्नरमा हेडरमार्फत गोल गर्दा युनाइटेड २–० ले पछि परेको थियो।
दोस्रो हाफको ५३ औं मिनेटमा मार्कस रासफर्डले गोल गर्दा खेल २–१ को स्थितिमा पुग्यो। उनले ब्रुनो फर्नान्डेसको पासमा गोल गरेका थिए। ७५ औं मिनेटमा ह्यारी मगाएरले बराबरी गोल फर्काए। उनले ब्रुनोकै पासमा गोल गरेका थिए
खेलको ८१ औं मिनेटमा रोनाल्डोले हेडरमार्फत गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए। उनले लुक शाको क्रसमा गोल गरेका थिए। त्यसपछि थप गोल हुन नसक्दा युनाइटेडले जित दर्ता गर्यो।
समूहकै अर्को खेलमा भिल्लारियलले योंग ब्वाइजको मैदानमा ४–१ को जित दर्ता गर्यो। टोलीको जितमा येरेमी पिनो, जेरार्ड मोरेनो, अल्बर्टो मोरेनो र स्याम चुकेवेजेले १–१ गोल गरे। घरेलु टोलीको लागि एलियाले स्कोर २–१ बनाएका थिए।
जितसँगै युनाइटेड समूहको अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ। टोलीको ३ खेलमा ६ अंक छ । एटलान्टा र भिल्लारियलको समान ४–४ अंक छ भने पुछारको योंग ब्वाइजको ३ अंक मात्र छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।