काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४औँ महाधिवेशनपछि नेपाली कांग्रेसमा गुटउपगुटको अन्त्य हुने बताएका छन्। गुटउपगुटले कांग्रेस कमजोर हुने अवस्थामा पुगेको भन्दै उनले यसको अन्त्य गरी पार्टी एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिए।
बागलुङमा नेपाली कांग्रेस काठेखोला गाउँपालिका–५ बिहुँले आउँदै गरेको शुभदिपावलीलगायत चाडपर्वका अवसरमा आज आयोजित शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा नेता पौडेलले कांग्रेसलाई अब गुटको हिसाबले नभएर सिङ्गो कांग्रेसको हिसाबले हेर्न आम कार्यकर्तालाई आग्रह गरे।
‘हामी १४औँ महाधिवेशनमा छौँ, अहिले शेरबहादुर देउवा पक्ष, रामचन्द्र पक्ष भनिए पनि यो गुट हैन,’ पौडेलले भने, ‘महाधिवेशनपछि कांग्रेस झनै सशक्त भएर अगाडि बढ्छ, कांग्रेस अब व्यक्ति हैन पार्टी हो, कसैले शेरबहादुर र रामचन्द्र भनेर ट्याग लगाउन जरुरी छैन।’
मुलुकको संविधानको खेलबाड संविधानको पालकबाटै हुने गरेको भन्दै उनले यस्तो कार्यले कसैलाई फाइदा नगर्ने बताए। पौडेलले एकलौटी ढङ्गले सत्ता सञ्चालन गर्न खोज्दा संविधानको मर्मभन्दा बाहिर गएर मुलुकमा अधिनायकतन्त्र ल्याउन खोजेकोसमेत आरोप लगाए।
कांग्रेस लोकतन्त्रको रक्षाका लागि उभिने दल भएका कारण कुनै पनि गुटउपगुटमा नलागी लोकतन्त्रको पक्षमा उभिन कार्यकर्तालाई आग्रह गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।