काठमाडौं– सन् २०२३ मा चीनमा आयोजना हुने एसिया कपको फाइनल चरण सिंगल राउण्ड रोबिनको आधारमा हुने भएको छ।
एसियाली फुटबल महासंघ (एएफपी) ले बुधबार एक विज्ञप्ति जारी गर्दै यसअघि होम एण्ड अवेमा हुने तय भएको फाइनल चरण कोरोनाका कारण अब दुवै मुलुकलाई उपयुक्त हुने स्थानमा सिंगल राउण्ड रोबिनमा हुने बताएको हो।
एसियन कप १६ जूनदेखि १६ जुलाईसम्म चीनमा आयोजना हुने तय छ। यस प्रतियोगिताका लागि छनोटको फाइनल चरण सन् २०२२ को जुनमा हुनेछ।
एएफसीको कार्यकारी कमिटीले कोरोना महामारीको चुनौतीलाई ध्यानमा राख्दै नियम परिवर्तन गरेको जनाएको छ। तर, खेलको लागि उपयुक्त स्थान भने तय हुन बाँकी छ।
'एएफसी कार्यकारी समितिले कोरोना महामारीका कारण विद्यमान चुनौतिहरुलाई ध्यानमा राखी सबै सरोकारवालाहरुको सुरक्षा र भलाइलाई प्राथमिकता दिएको छ,'एएफसीले एक विज्ञप्तिमा भनेको छ।
एएफसीले फाइनल चरण ८, ११ र १४ जूनमा आयोजित गरिने जनाएको छ। यसका लागि प्रतियोगिता आयोजना गर्न इच्छुक देशहरुले निर्धारित समयमा प्रस्ताव पेश गर्न आग्रह गरेको छ।
एएफसीले फाइनल चरणसहित सबै चरणका खेल हुने स्थान उच्च स्वास्थ्य र सुरक्षाको मापदण्डको पालना हुने गरी सञ्चालन गरिने बताएको छ।
त्यसको लागि कुनै पनि टोलीको लागि कम यात्रा र क्वारेन्टिनको मापदण्ड भएको स्थानमा खेलाइने एएफसीले बताएको छ।
'प्रतियोगिताको नियमहरुको सान्दर्भिक प्रावधान अनुसार आवश्यक परेमा नयाँ खेल तालिका परिमार्जन गर्न सकिन्छ,' विज्ञप्तिमा भनिएको छ।
सन् २०२३ को एसिया कपमा २४ टिम सहभागी हुनेछन्। नेपालले एसिया कप छनोटको तेस्रो चरण सीधै खेल्ने छ। एएफपीले छनोट प्रक्रियामा परिवर्तन गरेपछि नेपाली फुटबलको भाग्य खुलेको थियो। नेपालले अब त्यस अगाडिको प्लेअफ खेल्ने पर्ने छैन।
यसअघि नेपालले एसियाली विश्वकप छनोटको दोस्रो चरणको आफ्नो समूहको चौथो स्थानमा रहेर प्लेअफ खेल्नु पर्ने भएको थियो। एसियाकप आयोजक चीन तथा विश्वकप आयोजक कतार एसियाकपको डिफेन्डिङ च्याम्पियन पनि भएको आधारमा चौथो स्थानमा रहने सबै आठ टिमले सिधै तेस्रो चरणमा प्रवेश पाएको थियो।
नेपाल जस्तै हङकङ, माल्दिभ्स र श्रीलंकाले तेस्रो चरण खेल्ने छन्। त्यस्तै छनोटको पाँचौँ स्थानमा रहेका शीर्ष तीन टिमले पनि सिधै एसियाकप छनोटको तेस्रो चरण खेल्ने भएका छन्। त्यसअनुसार म्यानमार, यमन र बंगलादेशले पनि सीधै तेस्रो चरण खेल्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।