काठमाडौं– यूईएफए च्याम्पियन्स लिगमा इंग्लिस क्लब लिभरपुलले स्पेनिस क्लब एट्लेटिको मड्रिडमाथि रोमाञ्चक जित निकालेको छ।
लिभरपुलले १० खेलाडीमा समेटिएको घरेलु टोलीमाथि ३–२ को रोमाञ्चक जित निकालेको हो। लिभरपुलको जितमा मोहम्मद सलाहले दुई तथा नावी केइटाले एक गोल गरे। एट्लेटिकोका लागि दुवै गोल एन्टोनी ग्रिजमनले गरेका थिए।
वान्डा मेट्रोपोलिटानोमा मंगलबार राति भएको खेलमा आठौं मिनेटमै सलाहको गोलबाट लिभरपुलले अग्रता लिएको थियो। खेलको १३औं मिनेटमा नावी केइटाले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे।
त्यसपछि २०औं मिनेटमा एन्टोइन ग्रिजमनले कोकीको पासमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए। ३४औं मिनेटमा ग्रिजमनले जोआओ फेलिक्सको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याउँदै एट्लेटिकोलाई खेलमा फर्काए।
बराबरी गोल गरेका ग्रिजमनले दोस्रो हाफमा रेड कार्ड पाएपछि घरेलु टोली समस्यामा परेको थियो । ५२औं मिनेटमा बल खोस्ने क्रममा रोबर्टाे फिर्मिनोलाई खुट्टाले टाउकोमा प्रहार गरेपछि रेफ्रीले उनलाई रातो कार्ड दिँदै मैदान बाहिर पठाएका थिए। ७८औं मिनेटमा मोहम्मद सलाहले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै लिभरपुललाई ३–२ को रोमाञ्चक जित दिलाए।
जितपछि अपराजित रहेको लिभरपुल ३ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समूहमा पहिलो हार बेहोरेको एट्लेटिको ४ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ।
यही समूह ‘बी’ को अर्काे खेलमा पोर्चुगिज क्लब एफसी पोर्टाेले इटालियन क्लब एसी मिलानलाई १–० ले पराजित गरेको । पोर्टाेको जितमा दोस्रो हाफमा लुइस डियासले गरेको गोल नै निर्णायक बन्यो । जितपछि पोर्टाे ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। लगातार तेस्रो हार बेहोरेको मिलान अंकविहीन हुदै पुछारमा छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।