काठमाडौं – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले यूईएफए च्याम्पियन्स लिगअन्तर्गत समूह ए को खेलमा जित हात पारेको छ। मंगलबार राति सम्पन्न खेलमा अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीको प्रभावशाली प्रदर्शनमा पिएसजीले आरबी लाइप्जिगलाई ३–२ गोलअन्तरले पराजित गरेको हो।
खेलको दोस्रो हाफमा पछि परको पिएसजीका लागि मेस्सीले २ गोल गर्दै जित दिलाएका थिए। पिएसजीले फरवार्ड किलियन एमबाप्पेको गोलमा सुरुवाती अग्रता बनाएको थियो।
खेलको नवौ मिनेटमा उनले जुलियन ड्राक्सलरको पासमा गोल गरेका थिए। खेलको २८ औं मिनेटमा लाइप्जिगले गोल फर्कायो। एन्जेलिनोको क्रसमा आन्द्रे सिल्भाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
खेलको ५७ औं मिनेटमा एन्जेलिनोकै क्रसमा नोर्दिक मुकिएलेको गोलसँगै पाहुना टोली लाइप्जिग २–१को स्थितिमा पुग्यो। ६७ औं मिनेटमा मेस्सीले गोल गर्दै खेल पुनः बराबरीमा ल्याए। एमबाप्पेको पासमा मेस्सीको प्रहार पोस्टमा लागेर फर्किए पनि मेस्सी आफैंले उक्त रिबाउन्डलाई गोललाइन अघिबाट गोल गरेका थिए।
खेल ७४औं मिनेटमा पिएसजीले पेनाल्टीको अवसर पायो। एमबाप्पेलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि प्राप्त पेनाल्टीमा मेस्सीले गोल गरेका थिए। पिएसजीले इन्ज्युरी समयमा अर्को पेनाल्टी प्राप्त गर्यो। तर, एमबाप्पेको पेनाल्टी प्रहार सफल हुन सकेन।
जितसँगै पिएसजी अंक तालिकाको शीर्षस्थानमा कायम छ। टोलीको ३ खेलमा ७ अंक छ। सिटीको ३ खेलमा ६ अंक तथा क्लब ब्रुगको ४ अंक छ। आरबी लाइप्जिग भने ३ खेलमा अंकविहिन छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।