काठमाडौं- आसन्न सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्नका लागि नेपाली मुलका इटालीयन खेलाडी विकाश मेरालिया काठमाडौं आइपुगेका छन्।
इटालीमा बसेर व्यावसायिक फुटबल खेलिरहेका युवा स्ट्राइकर विकाश पहिलोपटक नेपाली लिग खेल्न फ्लाइ दुबईमार्फत् मंगलबार बेलुका ६ः३५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन्।
इटालीयन क्लव एट्लान्टा क्लवको युथ टिमबाट खेलेका विकाशले आगामी कात्तिक २९ गतेदेखि हुने ‘ए’ डिभिजन लिग खेल्ने छन्।
उनले कुन क्लबबाट खेल्ने आधिकारिक घोषणा हुन बाँकी छ। तर, च्यासल युथ, मच्छिन्द्र फुटबल क्लबलबाट खेल्ने चर्चा छ।

यसअघि विकाशले फेसबुकमा ‘म नेपाल आउँदै छु’ भनेर स्ट्याटस लेखेका थिए। पारिवारिक स्रोतका अनुसार सन् २००८ मा ६ वर्षको उमेरमा उनलाई एक इटालीयन दम्पतीले धर्मपुत्र बनाएर लगेका थिए। त्यसपछि उनी इटालीमै हुर्किएर फुटबल खेलाडी बनेका हुन्।
१९ वर्षे विकाशले एट्लान्टाको यू–१७ र यू–१९ बाट खेलिसकेका छन्। यसका साथै उनले भेनेजियाको यू–१९ टिमबाट पनि खेलेका छन्।
सन् २०२० को सप्टेम्बरमा उनी एट्लान्टाको यू–१९ टिमबाट काटोलिका क्लबमा अनुबन्ध भएका थिए। १० महिना सो क्लबबाट खेलेपछि उनी गत जुलाईमा इटालीयन चौथो डिभिजनको मेरिलियन्स क्लबमा अनुबन्ध भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।