काठमाडौं- एभरेष्ट बैंकले आफ्नो २७औं वार्षिकोत्सवको अवसरमा मुख्य शाखा लाजिम्पाटमा रक्तदान र निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न गरेको छ।
रगतको बढ्दो माग आपूर्तिका निम्ति रक्तदान कार्यक्रम गरिएको बैंकले जनाएको छ। उक्त कार्यक्रममा बैंकका कर्मचारी तथा ग्राहकहरुले समेत सहभागिता जनाएका थिए।
'रगतको बढ्दो मागलाई पूरा गर्ने उद्देश्यले बैंकका ५० भन्दा बढी कर्मचारी तथा ग्राहकहरुले रक्तदान गरेका थिए। त्यसैगरी १०० भन्दा कर्मचारी तथा ग्राहकहरुले निःशुल्क स्वास्थ्य जाँच शिविरमा वरिष्ठ चिकित्सकहरुबाट पोस्ट कोभिडको बारेमा आवश्यक परामर्श लिएका छन्,' बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यसै कार्यक्रमको शिलशिलामा बैंकमा २५ वर्षभन्दा बढी सेवारत कर्मचारीहरुलाई सम्मान गरेको बैंकले जनाएको छ। यसैगरी बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ललितपुर महानगरपालिकासँग शंखमुलस्थित घाटमा विद्युतीय शवदाह उपकरण उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर गरेको जानकारी दिएको छ।
सो सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले हस्ताक्षर गरेका थिए। यसै अवसरमा बैंकले वानेश्वरस्थित शाखाका एकजना पुराना ग्राहकलाई अभिनन्दन पनि गरेको थियो।
बैंकमा हाल ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका बैंकले जनाएको छ। देशभर बैंकको १०५ शाखा सञ्जाल, १३८ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस् बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको बैंकको भनाइ छ। यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।