काठमाडौं- लगातार परेको भारी वर्षाका कारण सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा आएको बाढी र पहिरोमा परेकाहरुको उद्धार नेपाली सेनाको हेलिकोप्टरबाट गरिँदै छ।
गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा नेपाली सेनाको सुर्खेतस्थित स्टेसनबाट बाढी र पहिरोमा परेकाहरुको उद्धारका लागि हेलिकोप्टर उडेको मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाकी प्रमुख सहसचिव हुमकला पाण्डेले जानकारी दिइन्।
वर्षातका कारण सुदूरपश्चिमका डोटी डडेलधुरा र कञ्चनपुर बढी प्रभावित भएका छन्। महाशाखा प्रमुख पाण्डेका अनुसार डोटी र डडेलधुरामा एक/एक जनाको मृत्यु भएको छ भने डडेलधुरामा एक जना पुरिएका छन्। केही स्थानमा बाढी र पहिरोका कारण मानिसहरु बीचमा थुनिएको खबर आएको पाण्डेले बताए।
मन्त्री खाणले यी जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र सशस्त्र प्रहरीका प्रमुखलाई टेलिफोन गरी समन्वयात्मक ढंगले उद्धार र राहतको काम तिव्र गतिमा गर्न निर्देशन दिएका छन्।
त्यस्तै उनले गृहको विपद् व्यवस्थापन महाशाखाकी प्रमुख पाण्डेलाई तत्काल विपद्मा परेकाहरुको उद्धार, अस्थायी स्थानान्तरणको कार्य अघि बढाउन निर्देशन दिए।
गृहमन्त्री खाणले बाढीपहिरो र डुबान प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखलाई टेलिफोन गरेर अहिलेसम्म भइरहेको उद्धार कार्यका लागि धन्यावाद दिँदै नागरिकको जीवन रक्षाका लागि उपलब्ध स्रोत र साधनको उपयोग गरी तप्परताका साथ काम गर्न निर्देशन दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।