काठमाडौं- महाकाली नदीमा आठ वर्षयताकै सबैभन्दा ठूलो बाढी आएपछि तटीय क्षेत्रका बस्तीमा बाढी पसेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी सिद्धराज न्यौपानेका अनुसार महाकाली नदीमा पानीको सतह पाँच लाख २०० क्युसेक मापन गरिएको छ।
‘पछिल्लो पानीको सतह पाँच लाख २०० क्युसेक मापन गरिएको छ। अझै सतह बढ्ने देखिन्छ,’उनले भने,‘यो महाकाली नदीमा आठ वर्षपछिकै सबैभन्दा ठूलो बाढी हो।’
महाकाली नदीले बाढी थेग्नसक्ने क्षमता छ लाख ४४ हजारमात्रै रहेको छ। यो नदीमा एक लाख क्युसेकभन्दा बढी पानी खतराको संकेतका रुपमा लिने गरिन्छ। तर, आइतबार रातिदेखि निरन्तर भइरहेको वर्षापछि नदीमा बढेको पानीको सतह निकै उच्च रहेको स्थानीयले बताएका छन्।
महाकाली नदीमा आएको बाढीका कारण भीमदत्त नगरपालिकाअन्तर्गतका वडा नम्बर ९, १०, ११, १२,१३ र १४ सहित नदीको तटीय क्षेत्रका सबै बस्तीहरु डुबेका छन्। ‘रातिदेखि नै उद्धारमा सुरक्षाकर्मी खटिएका छन्। थप टोली पनि परिचालन गरेका छौं। मानवीय क्षति भएको छैन,’डीएसपी न्यौपानेले भने, ‘अन्य क्षतिको विस्तृत विवरण आइसकेको छैन।’
महाकाली नदीमा पानीको सतह उच्च भएपछि चार लेनको महाकाली पुललाई जोड्ने पहुँचमार्गका रुपमा निर्माण भइरहेको छ लेनको कालोपत्रे सडक पनि कटान गर्न थालेको छ। सडकको एकातर्फको आधा भाग नदीले कटान गरिसकेको छ।
नदीमा आएको बाढीका कारण नदी पारिको महाकाली नगरपालिका १० कुतियाकबर क्षेत्रका बस्ती पनि डुबाएको छ। स्थानीय प्रशासनले नदीको तटीय क्षेत्रमा रहेका मानिसहरुलाई सुरक्षित स्थानमा सार्ने काम जारी राखेको छ।

सुदूरपश्चिमका पहाडी जिल्लामा भइरहेको लगातारको वर्षापछि महाकालीलगायतका नदीहरुमा बाढी आएको हो। महाकाली नदीमा पानीको बहाव उच्च भएपछि शारदा ब्यारेजमा भारतीय पक्षले आवागमन बन्द गरेको छ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार बिहान सुरुआतको मापनमा महाकाली नदीमा पानीको बहाव तीन लाख ९१ ह्जार ३६५ थियो। त्यसपछि ७ बजे चार लाख ६१ हजार ७८८ पुगेको हो। अहिले ९ बजेको मापनअनुसार पाँच लाख २०० क्युसेक पुगेको छ। पानीको बहाव बढने क्रम अझै जारी रहेको प्रहरीले जनाएको छ।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।