काठमाडौं- एएफसी यू-२३ एसियन कप छनोट खेल्ने नेपाली यू-२३ राष्ट्रिय फुटबल टोली भोलि ताजाकिस्तान प्रस्थान गर्दै छ। सोमबार दशरथ रंगशालामा अन्तिम तयारी गरेको नेपाली टोलीले बलिया टोलीसँग राम्रो प्रदर्शन गरेर अघिल्लो चरणमा स्थान बनाउने लक्ष्य लिएको छ।
उज्वेकिस्तानमा सन् २०२२ मा आयोजना छनोट खेलका लागि राष्ट्रिय टोलीमा अटाएका मनिष डाँगी, सुमन अर्याल, आयुष घलानलाई समेट्दै मुख्य प्रशिक्षक बालगोपाल महर्जनले २३ सदस्यीय नेपाली टिमको घोषणा गरेका छन्।
फिफा वरीयतामा नेपालभन्दा माथि रहेका टोलीसँग नेपालले छनोट खेल्दै छ। टोलीमा अहिले युवा खेलाडीको बाहुल्यता रहेको छ भने केही राष्ट्रिय टोलीबाट अनुभव लिएका खेलाडी पनि समावेश भएका छन्। यसै कारण प्रशिक्षक महर्जनले छोटो तयारीका बाबजुद् पनि नेपाली टोली बलिया टोलीसँग राम्रो नतिजाका लागि खेल्ने बताए।
प्रशिक्षक महर्जनले भनेजस्तै नेपाली टोलीका गोलरक्षक अर्पण कार्कीले युवा खेलाडीमा जोस भएकाले बलिया देशविरुद्ध राम्रो नतिजाका लागि खेल्ने प्रतिक्रिया दिए। यस्तै युवा स्ट्राइकर अभिषेक रिजालले बलियो टोलीविरुद्ध सतप्रतिशत दिएर खेल्ने बताए।
छनोटअन्तर्गत नेपाल समूह ‘बी’ मा रहेको छ। नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान समावेश छन्।
ताजिकिस्तानमा हुने छनोट खेल आगामी अक्टोबर २३ देखि ३१ सम्म हुनेछ। नेपालले समूहचरणको पहिलो खेलमा इरानसँग अक्टोबर २५ मा खेल्नेछ। यस्तै दोस्रो खेलमा आयोजक ताजिकिस्तानसँग अक्टोबर २८ मा प्रतिस्पर्धा गर्दा अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्नेछ।
छनोटका ११ समूहको शीर्ष टोलीले एएफसी यू-२३ एसियन कप खेल्ने मौका पाउने छन्। यस्तै दोस्रो टोलीमध्ये उत्कृष्ट चार टोली पनि यू-२३ एसियन कपमा छनोट हुने छन्। उज्वेकिस्तानमा नै हुने प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म आयोजना हुने तालिका रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।