काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले फाइनलको दोस्रो हाफमा तालमेल नमिल्दा महत्वपूर्ण इतिहास बनाउन चुकेको बताएका छन्।
माल्दिभ्समा सम्पन्न साफको उपविजेता बनेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै किरणले २८ वर्षपछि फाइनल पुगेर इतिहास रचे पनि फाइनलमा चुक्दा एउटा महत्वपूर्ण इतिहास गुमाएको बताए।
‘सुरुआतबाटै गार्हो थियो। तर, हामीले यात्रा सुरु गर्यौं। २८ वर्षपछि फाइनल पुगेर इतिहास रच्यौं। तर, फाइनलमा हामी चुक्दा एउटा महत्वपूर्ण इतिहास गुमायौं,’ उनले भने,‘मानसिक रुपमा हामीले उनीहरुलाई बलियो छ भनेर लियौं जस्तो लाग्यो। हामीले पहिलो हाफमा राम्रो गरेका थियौं। दोस्रो हाफको पाँच मिनेटमा हामीले खेल गुमायौं।’
कप्तान किरणले २८ वर्षपछि फाइनल पुग्नु पनि ठूलो उपलब्धि रहेको बताए। मालेमा शनिबार राति भएको फाइनलमा नेपाल भारतसँग ३-० ले पराजित भएको थियो।
फाइनलमा पराजित भएपछि नेपालले साफको उपविजेतामा चित्त बुझायो। कप्तान किरणले प्रतियोगितामा टिमको प्रदर्शनबाट सन्तुष्ट भएको प्रतिकृया दिएका छन्।
‘फाइनल गुमाउदा कता कता दुख लागेको छ। यो खेलको पाटो हो। पराजयबाटै धेरै कुरा सिकिन्छ। हारबाट धेरै कुरा सिक्यौं र यसले आगामी दिनमा राम्रो हुनेछ। समग्रमा प्रतियोगिताको प्रदर्शनमा सन्तुष्ट छौं,’ उनले भने।
यता, टोलीको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहजराजले साफ च्याम्पियनसिपमा नेपाली राष्टिय टोलीले गरेको उत्कृष्ट प्रदर्शनले नेपाली खेलकुदमा नयाँ आशा जगाएको बताएका छन्।
‘तपाईहरुले माल्दिभ्समा जुन प्रकारको प्रदर्शन गर्नु भएको छ, त्यसका लागि नेपाल सरकार, खेलकुद मन्त्रालय तथा म व्यत्तिगत रुपमा धन्यवाद दिन चाहन्छु,’ उनले भने,‘साफमा पहिलो पटक फाइनल पुगेर नेपाली फुटबल टोलीले समग्र नेपाली खेलकुदका लागि नयाँ बाटो कोरिदिएको छ।त्यो उत्कृष्ट प्रदर्शनलाई नेपाली टोलीले कायम राख्छ भन्ने विश्वास छ। गोर्खा स्पिरिटका लागि धन्यवाद।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।