काठमाडौं– साफ च्याम्पियनसिपको २८ वर्षे इतिहासमा सबभन्दा ठूलो उपलब्धि अर्थात् उपबिजेता बनेको नेपाली फुटबल टोली स्वदेश फिर्ता भएको छ। सोमबार बिहान मुख्यप्रशिक्षक अब्दुल्ला अल्मुताइरी र डिफेन्डर रोहित चन्दविना टोली ३७औं दिनपछि स्वदेश फर्केको हो। अल्मुताइरीको नेतृत्वमा रहेको नेपाली टोली माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपको झण्डै ३ दशक लामो इतिहासमा पहिलो पटक फाइनल पुग्न सफल भएको थियो। तर, फाइनलमा नेपाल भारतसँग ३–० ले पराजित भयो। १३औं संस्करणमा आइपुग्दा भारत आठौं पटक च्याम्पियन बनेको हो ।
नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार खेलकुद मन्त्री महेश्वर गहतराज तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीलगायतले स्वागत गरे। सो अवसरमा नेपाली समर्थककाे समेत बाक्लो उपस्थिति थियो।
राउन्ड रोविनको अन्तिम खेलबाट फाइनल पुगेपछि प्रशिक्षक अल्मुताइरीले नेपाल नफर्किने घोषणा गरेका थिए। तर, उनले ग्यालेक्सी फोर केमा दिएको अन्तर्वातामा ६ महिनाभन्दा लामो समयदेखि राष्ट्रिय टोलीको प्रशिक्षणमा व्यस्त रहेका कारण आफूले केहि दिनको विश्राम चाहेको बताएका छन्।
उनले केहि दिनपछि मात्र नेपाली टोलीको प्रशिक्षकमा कायम रहने/नरहने विषयमा निर्णय लिने जानकारी दिएका छन्। यता, इन्डोनेसियाको पर्सिजा जाकार्ताबाट व्यवसायिक फुटबल खेल्दै आएका रोहित क्लबको जिम्मेवारीका लागि त्यसतर्फ गएका छन्। च्याम्पियनसिपमा भाग लिनका लागि पनि उनी डन्डोनेसियाबाट सिधै माल्दिभ्स पुगेका थिए।










नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।