काठमाडौं– माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम सोमबार बिहान स्वदेश फर्किएको छ। नेपाली टोलीलाई त्रिभुवन विमानस्थलमा खेलकुद मन्त्री महेश्वर गहतराज तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीलगायतले स्वागत गरे।
साफ च्याम्पियनसिपको झण्डै ३ दशक लामो इतिहासमा नेपाल पहिलो पटक फाइनल पुगेको थियो। माल्दिभ्समा भएको च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग ३–० ले पराजित भएको थियो। राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरी र खेलाडी रोहित चन्द भने स्वदेश फर्किएनन्।
रोहित माल्दिभ्सबाटै इन्डोनेसिया गए भने प्रशिक्षक अल्मुतमइरी भने केही दिनको विश्राम लिने भन्दै नेपाल नआएका हुन्। इन्डोनेसियाको पर्सिजा जाकार्ताबाट व्यवसायिक फुटबल खेल्दै आएका रोहित क्लबको जिम्मेवारीका लागि त्यसतर्फ गएका हुन्।
महिना दिन भन्दा लामो समयपछि फुटबल टोली स्वदेश फर्केको हो। साफको तयारीको सिलसिलामा नेपाली टोली भदौ २५ गते कतार गएको थियो। कतारबाट साफ च्याम्पियनसिपका लागि टोली असोज ११ गते माल्दिभ्स पुगेको थियो।
पाँच राष्ट्र सहभागी प्रतियोगितामा नेपाल लिग चरणमा उपविजेता बन्दै फाइनल पुगेको थियो। भारतले भने राउण्ड रोबिन लिगको शीर्ष स्थानमा रहदै फाइनल खेलेको हो।
पाँच राष्ट्र सहभागी प्रतियोगितामा नेपाल लिग चरणमा उपविजेता बन्दै फाइनल पुगेको थियो। भारतले भने राउण्ड रोबिन लिगको शीर्ष स्थानमा रहदै फाइनल खेलेको हो।
लिग चरणमा नेपालले माल्दिभ्स र श्रीलंकालाई हराएको थियो भने भारतसँग पराजित भएको थियो। लिगको अन्तिम खेलमा बंगलादेशसँग बराबरी खेल्दै नेपालले फाइनलमा स्थान बनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।