काठमाडौं- इङ्लिस प्रिमियर लिगअन्तर्गत आज भएको खेलमा लिभरपुलले वाटफोर्डमाथि ५-० को सहज जित हात पारेको छ। वाटफोर्डको मैदानमा भएको खेलमा रोबर्टो फर्मिनोको ह्याट्रिक मद्दतले लिभरपुल विजयी भएको हो।
लिभरपुलका लागि मोहम्मद सलाह र साडियो मानेले एक/एक गोल गरे।
लिभरपुलले नवौं मिनेटमा मानेको गोलमार्फत् अग्रता लिएको थियो। ३७औं मिनेटमा फर्मिनोले गोल गरेपछि पहिलो हाफमा लिभरपुल २-० ले अगाडि रह्यो।
दोस्रो हाफको ५२औं मिनेटमा फर्मिनोले लिभरपुलका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरे। त्यसको दुई मिनेटपछि नै सलाहले गोल गरेपछि लिभरपुल ४-० को अग्रतामा पुग्यो।
खेलको इन्जुरी समयमा फर्मिनोले ह्याट्रिक गोल गर्दै टिमलाई ५-० को सहज जित दिलाए।
जितसँगै लिभरपुल लिगको शीर्षस्थानमा उक्लिएको छ। यद्यपि, उसले दोस्रो स्थानको चेल्सीले भन्दा एक खेल बढी खेलेको छ। लिभरपुलले आठ खेलबाट १८ अंक जोड्दा सात खेल खेलेको चेल्सी १६ अंकका साथ दोस्रो स्थानमा रहेको छ।
आठ खेलबाट सात अंक जोडेको वाटफोर्ड लिग तालिकाको १५औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।