काठमाडौँ- साफ च्याम्पियनसिप फुटबलको फाइनल खेलमा नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई प्रतिबन्ध लगाइएको छ। लिग चरणका दुई खेलमा पहेँलो कार्ड पाएका अल्मुताइरीलाई दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले प्रतिबन्ध लगाएको हो।
साफको नियमावलीमा रातो कार्ड पाएमा मात्र अफिसियलले अर्को खेल गुमाउने उल्लेख छ। तर, लिग चरणमा दोस्रो खेलमा श्रीलंका र अन्तिम खेलमा बंगलादेशविरुद्ध पहेंलो कार्ड पाएका अलमुताइरीलाई आज भारतविरुद्ध हुने फाइनल खेलमा साफले प्रतिबन्ध लगाएको निर्णय गरेको छ।
साफले आफूमाथि प्रतिबन्ध लगाएर अन्याय गरेको अल्मुताइरीले बताएका छन्। साफको निर्णय नियमविपरीत भएको पनि उनले बताएका छन्।
यसअघि माल्दिभ्सविरुद्धको खेलमा रातो कार्ड पाएपछि भारतीय प्रशिक्षक इगोर स्टिम्याक मैदानबाहिर हुने निश्चित थियो। साफले भारतीय टोलीसँग सन्तुलन बनाउनका लागि आफूलाई प्रतिबन्ध लगाएको मुख्य प्रशिक्षक अल्मुताइरीले बताएका छन्।
‘भारतीय प्रशिक्षक नभएर मलाई पनि बाहिर राख्न खोजिएको छ,’ शनिबार आयोजित भर्चुअल पत्रकार सम्मलेनमा अल्मुताइरीले भने, ‘यदि आफैँले नियम बनाएर नमान्ने हो भने नियम किन बनाउने? नेपालको रिजल्टबाट उनीहरु खुशी नहुन सक्छन्। तर म चुप बस्दिन, एएफसीसँग मिटिङ गर्छु।’
आफू नभए पनि नेपाली टोलीले नतिजाका लागि फाइट गर्ने उनले बताए। साफ अधिकारीहरुले नेपालले भारतलाई नजितोस् भन्ने चाहेको आरोप पनि उनले लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।