काठमाडौं– फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जित हात पारेको छ। शुक्रबार राति सम्पन्न खेलमा पीएसजीले एन्जर्सलाई २–१ गोल अन्तरले पराजित गरेको हो।
पीएसजीको जितमा डानिलो पेरिरा र केलियन एम्बाप्पेले एक÷एक गोल गरे। एन्जर्सका लागि एन्गेलो फुल्गिनीले गोल गरे।
खेलमा सुरुआती अग्रता भने एन्जर्सले बनाएको थियो।खेलको ३६ औं मिनेटमा फुल्गिनीले गोल गर्दै एन्जर्सलाई अग्रता दिलाएका थिए।
खेलको ६९ औं मिनेटमा डानिलोले गोल गर्दै पीएसजीलाई १–१ गोलको बराबरीमा फर्काए। खेलको ८७ औं मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै पीएसजीलाई २–१ को जित दिलाए।
जितसँगै १० खेलबाट २७ अंक जोडेको पीएसजी लिग तालिकाको शीर्ष स्थानमा यथावत रहेको छ। पराजित एन्जर्स १६ अंक जोडेर चौथो स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।