काठमाडौं- नेपालले भारतसँग जारी साफ च्याम्पियनसिप फुटबलको फाइनलमा खेल्ने भएको छ।
बुधबार राति राउण्ड रोबिन लिगको अन्तिम खेलमा माल्दिभ्सलाई ३-१ गोल अन्तरले पराजित गर्दै भारतले नेपालसँग उपाधि होड पक्का गरेको हो। मालेस्थित राष्ट्रिय रंगशालामा भारतलाई जित दिलाउन कप्तान सुनिल क्षेत्रीले दुई गोल गरे । मानबिर सिंहले एक गोल गरे ।
माल्दिभ्सका अलि अस्फाकले एक गोल फर्काए। खेलको ३३ औं मिनेटमा मानबिरले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए। ४५ औं मिनेटमा माल्दिभ्सले पाएको पेनाल्टीमा कप्तान अस्फाकले गोल गरे र खेल १-१ गोलको स्थितिमा पुग्यो।
दोस्रो हाफमा भारतका कप्तान सुनिलले दुई गोल गरे। भारतका लागि उनको यो ७९ औं गोल हो। इन्जुरी समयमा सुबासिस बोसले रातो कार्ड पाएपछि भारत अन्तिम केहि समय १० खेलाडीमा सिमिमत भएको थियो।
अब भारत र नेपालबीचको फाइनल खेल आइतबार हुनेछ। खेल आइतबार नेपाली समय अनुसार ४:४५ बजे सुरु हुनेछ।
नेपाल उपविजेता बन्दै फाइनल पुगेको हो।
नेपालले बुधबार बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै फाइनलमा स्थान बनाएको हो। नेपालले यही प्रतियोगिता अन्तर्गत लिग चरणको खेलमा भारतसँग हार व्यहोरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।