काठमाडौं– पोर्चुगलले फिफा विश्वकप २०२२ को छनोट अन्तर्गत समूह ए को खेलमा लक्जेम्बर्गमाथि फराकिलो जित हात पारेको छ। पोचूगलको सहज जितमा फरवार्ड क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए। रोनाल्डोले पहिलो हाफमा दुई पेनाल्टीसहित तीन गोल गर्दा पोर्चुगल ५–० ले विजयी भएको हो।
रोनाल्डोले खेलको आठौं र १३ औं मिनेटमा पेनाल्टीमा गोल गर्दा पोर्चुगलले २–० को अग्रता बनाएको थिो। १७ औं मिनेटमा ब्रुनो फर्नान्डेसले बर्नार्डो सिल्भाको पासमा गोल गरसँगै पहिलो हाफमा पोर्चुगल ३–०को स्थितिमा पुग्यो।
खेलको ६९ औं मिनेटमा जोआओ पाल्हिन्हाले खेल ४–०को स्थितिमा पुर्याए। खेल सकिन ३ मिनेट बाँकी हुँदा रोनाल्डोले हेडमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए।
रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा १०औं र व्यावसायिक करिअरमा ५८ औं ह्याट्रिक पूरा गरे। उनले आफ्नो अन्तर्राष्ट्रिय गोल संख्यासमेत १ सय १५ पुर्याएका छन्। उनले केही दिन अघिमात्र इरानका अली दाइले राखेको १ सय ९ गोलको कीर्तिमान तोडेका थिए।
यस जितसँगै पोर्चुगल अंक तालिकामा दोस्रो स्थानमा कायम छ । शीर्षस्थानको सर्बियाको ७ खेलमा १७ अंक तथा पोर्चुगलको ६ खेलमा १६ अंक रहेको छ। पोर्चुगलले अब आयरल्यान्ड तथा सर्बियासँग् खेल्न बाँकी छ। समूहको शीर्ष स्थानमा रहने टोली सिधै विश्वकपको लागि छनोट हुनेछ । दोस्रो स्थानमा रहने टोलीले भने अर्को छनोट चरण पार गर्नुपर्ने हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।