काठमाडौं– फिफा विश्वकप कतार २०२२ को युरोपेली छनोटअन्तर्गत क्रोएसियाले स्लोभाकियासँग बराबरी खेलेको छ। कप्तान लुका मोड्रिचले खेलको अन्तिम समयतिर गोल गरेपछि क्रोएसिया हारबाट जोगिएको हो।
घरेलु मैदानमा सम्पन्न खेलमा पछि परेको क्रोएसियाले स्लोभाकियालाई २–२ गोलको बराबरीमा रोक्न सफल भएको हो। स्लोभाकियाका इभान श्रयन्स र लुकास हरसलिनले गोल गर्दा घरेलु टोलीका लागि एन्ड्रेज क्रामारिक र लुका मोड्रिचले गोल फर्काए।
खेलको २०औं मिनेटमा इभान श्रयन्सले गोल गर्दै स्लोभाकियालाई १–० को अग्रता दिलाएका थिए। उनले मारेक हाम्सिकको पासलाई सदुपयोग गरेका थिए। २५औं मिनेटमा एन्ड्रेज क्रामारिकले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। ४५औं मिनेटमा लुकास हरसलिनले गोल गरेपछि क्रोएसिया पहिलो हाफमा २–१ ले पछि पर्यो।
खेलको ७१औं मिनेटमा कप्तान लुका मोड्रिचले गोल गर्दै क्रोएसियालाई हारबाट जोगाए। यो बराबरीपछि समूह ‘एच’ मा क्रोएसिया ८ खेलबाट १७ अंक जोडेर दोस्रो स्थानमा झरेको छ । स्लोभाकिया १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ।
यही समूहको अर्काे खेलमा रसियाले स्लोभेनियालाई २–१ ले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको छ। रसियाको जितमा इगोर डिभेव र जिओरजी डिजिकियाले गोल गरे । स्लोभेनियाका जोसिप इलिसिसले एक गोल फर्काए।
यो जितसँगै रसियाको ८ खेलबाट १९ अंक भएको हो। पराजित स्लोभेनिया १० अंक जोडेर चौथो स्थानमा रहेको छ।
यही समूहको अर्काे खेलमा साइप्रस र माल्टाले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरीपछि दुवै टोलीको समान ८ खेलबाट समान ५ अंक रहँदा माल्टा गोलअन्तरमा पाँचौ स्थानमा रहँदा साइप्रस पुछारमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।