काठमाडौं– विश्वकप छनोटअन्तर्गत गएराति सम्पन्न खेलमा जर्मनीले घरेलु टोली नर्थ म्यासेडोनियालाई ४–० ले पराजित गरेको छ। इंग्लिस क्लब चेल्सीका फरवार्ड टिमो वेर्नरको दुई गोल तथा जर्मन क्लब बायर्न म्युनिखका मिडफिल्डर थोमस मुलरको दुई असिस्टमा जर्मनीले सानदार जित दर्ता गरेको हो।
जितसँगै जर्मनी सन् २०२२ को कतार विश्वकप फुटबलमा छानिने पहिलो टिम बनेको छ। जर्मनी दुई खेलअघि नै विश्वकपमा छानिन सफल भएको हो।
जर्मनीको फराकिलो जितमा वेर्नरले दुई गोल गर्दा काई हाभर्टज र जमल मुसियालाले समान एक÷एक गोल गरे। खेलको चारै गोल दोस्रो हाफमा भएको थियो।
घरेलु टोली नर्थ म्यासेडोनियाले पहिलो हाफमा जर्मनीलाई बराबरीमा रोकेको थियो। खेलको ५०औं मिनेटमा काई हाभर्टजको गोलबाट जर्मनीले अग्रता लिएको थियो। उनले थोमस मुलरको पासमा गोल गरेका थिए।
७०औं मिनेटमा टिमो वेर्नरले गोल गर्दै जर्मनीको अग्रता दोब्बर पारे। वेर्नरले मुलरकै पासमा गोल गरे। त्यसको तीन मिनेटपछि नै वेर्नरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै जर्मनीलाई सहज जिततर्फ अघि बढाए। उनले फ्लोरियन रिट्जको पासमा गोल गरेका थिए।
खेलको ८३औं मिनेटमा जमन मुसियालाले करिम यडियमीको पासमा गोल गर्दै जर्मनीलाई ४–० को फराकिलो जित दिलाए।
यो जितसँगै समूह ‘जे’ मा जर्मनी ८ खेलबाट २१ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । पराजित म्यासेडोनिया १२ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।
यही समूहको अर्काे खेलमा आइसल्यान्डले लिचेस्टाइनलाई ४–० गोल अन्तरले पराजित गरेको छ। रोमानियाले अर्मेनियालाई १–० ले पराजित गरेको छ । यो नतिजापछि रोमानिया ८ खेलबाट १३ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ। अर्मेनिया १२ अंकसहित चौथो स्थानमा छ । आइसल्यान्डको ८ तथा लिचेस्टाइनको १ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।