काठमाडौं- ब्राजिलियन फरवार्ड नेयमार चाँडै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने मनसायमा पुगेका छन्।
२९ वर्षीय नेयमारको उक्त धारणा डीएडेजएनद्वारा निर्मित वृत्तचित्र 'नेमार एण्ड द लाइन अफ किंग्स' मा समेटिएको छ। त्यसको एउटा अंश आइतबार सामाजिक सञ्जालमा प्रसरण भएको थियो।
उनले आगामी वर्ष कतारमा हुने विश्वकप ब्राजिलका लागि आफ्नो अन्तिम हुनसक्ने बताएका छन्।
‘मलाई लाग्छ यो (२०२२) को विश्वकप मेरो लागि अन्तिम हुनसक्छ। किनभने, मलाई थाहा छैन म मानसिक रुपमा फुटबलका लागि सक्षम हुनेछु वा हुने छैन,’ नेयमारले भनेका छन्।
उनले २०२२ पछिको विश्वकपका लागि आफू मानसिक रुपमा सक्षम रहने वा नरहनेबारे थाहा नभएको उल्लेख गरेका छन्।
‘म मेरो देशलाई जिताउन र मेरो सपना साकार गर्नका लागि सबै गर्नेछु,’ उनले भने।
नेयमारले विश्वकप छनोट खेलअन्तर्गत आइतबार ब्राजिलका लागि खेलेका थिए। जसमा ब्राजिल कोलम्बियासँग गोलरहित बराबरीमा रोकियो।
१० टोली सहभागी राउन्ड रोबिन प्रतियोगितामा ब्राजिलले १० खेलमा २८ अंक जोडेको छ। ब्राजिल शीर्षस्थानमा यथावत् रहेको छ। कोलम्बिया १५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।