काठमाडौं– फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले उरुग्वेलाई पराजित गरेको छ। घरेलु मैदानमा सम्पन्न खेलमा अर्जेन्टिनाले उरुग्वेलाई ३–० ले पराजित गरेको हो।
अर्जेन्टिनाको जितमा कप्तान लियोनेल मेस्सी, रोड्रिगो डि पउल र लोउटारो मार्टिनेजले गोल गरे। सोमबार बिहान सम्पन्न खेलमा घरेलु टोलीले खेलको सुरुवातदेखि नै पाहुना टोलीमाथि दवाव बढाएको थियो।
खेलको ३८औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै अर्जेन्टिजालाई १–० को अग्रता दिलाए। उनले जियोभानी लो सेल्सोको पासलाई सदुपयोग गरेका थिए। खेलको ४४औं मिनेटमा रोड्रिगो डि पउलले गोल गर्दै अर्जेन्टिनालाई पहिलो हाफमा २–० को अग्रता दिलाए। रोड्रिगोले लोउटारो मार्टिनेजको पासमा गोल गरेका थिए।
खेलको ६२औं मिनेटमा लोउटारो मार्टिनेजले जियोभानी लो सेल्सोको पासमा गोल गर्दै अर्जेन्टिनालाई ३–० को सहज अग्रता दिलाए। त्यसपछि दुवै टोलीबाट थप गोल निस्कन नसक्दा अर्जेन्टिना विजयी हुन सफल भयो।
जितसँगै छनोटमा अपराजित रहेको अर्जेन्टिना १० खेलबाट २२ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ। अर्जेन्टिना शीर्षस्थानको ब्राजिलसँग ६ अंकले पछि छ। ब्राजिलको समान खेलबाट २८ अंक छ। पराजित उरुग्वे १६ अंक जोडेर चौथो स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।