काठमाडौं– यूईएफए नेसन्स लिगको उपाधि फ्रान्सले जितेको छ। स्पेनमाथि पूनरागमन जित निकाल्दै फ्रान्स च्याम्पियन बनेको हो। फ्रान्सले स्पेनमाथि २–१ को हात पारेको हो।
फ्रान्सको जितमा करिम बेन्जेमा र केलियन एमबाप्पेले गोल गरे। स्पेनका लागि मिकेल ओयरजावालले गोल गरेका थिए। फाइनलका सबै गोल दोस्रो हाफमा भएको थियो।
खेलको ६४ औं मिनेटमा कप्तान सर्जियो बुस्क्वेट्सको पासमा मिकेल ओयरजावालले गोल गर्दै स्पेनलाई १–० को अग्रता दिलाए। तर स्पेनको अग्रता दुई मिनेट पनि टिकेन। ६६औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। बेन्जेमाले एमबाप्पेको पासमा गोल गरेका थिए । ८०औं मिनेटमा एमबाप्पेले थियो हर्नान्डेजको पासमा गोल गर्दै फ्रान्सलाई २–१ को अग्रता दिलाए।
गत जुन–जुलाईमा सम्पन्न युरोकपमा कमजोर प्रदर्शन गरेको फ्रान्सले प्रशिक्षक डिडियर डेसच्याम्पको नेतृत्वमा दोस्रो उपाधि जित्न सफल भएको होे। यसअघि फ्रान्सले २०१८ मा विश्वकपको उपाधि जितेको थियो।
त्यसअघि आइतबार राति नै भएको खेलमा बेल्जियमलाई २–१ पराजित गर्दै इटालीले तेस्रो स्थान हासिल गरेको । इटालीको जितमा निकोलो बरेल्ला र डोमिनिको बेरारडीले गोल गरे । बेल्जियमका चार्लेस डि केटलारेले एक गोल फर्काए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।