काठमाडौं- १३औं साफ च्याम्पियनसिप अन्तर्गत लिग चरणको तेस्रो खेलमा भारतसँग नेपाल पराजित भएको छ।
माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा आइतबार सम्पन्न खेलमा अंक तालिकाको दोस्रो स्थानमा रहेको नेपाल भारतसँग १-० गोल अन्तरले पराजित भएको हो।
जितसँगै भारतको फाइनल पुग्ने सम्भावना अझै कायम रहेको छ। खेलको सुरुवातदेखि नै भारतको आक्रमणलाई निस्तेज पार्नमा व्यस्त रहेको नेपाली टोलीले खेलको अन्त्यतिर गोल खान पुग्यो।
खेलको ८२औं मिनेटमा डिफेन्स र गोलरक्षकबीच तालमेल नमिल्दा भारतका कप्तान सुनिल क्षेत्री गोल गर्न सफल भए।
त्यसअघि खेलको ३४ औं मिनेटमा सुनिल क्षेत्रीले खालि पोस्टमा गोल गर्न सकेनन्। सुरेश वाङजामको क्रसमा गोलरक्षक किरण चेम्जुङसमेत बिट भइसकेपछि ६ यार्ड बक्सभित्र खाली पोस्टको अघि अनमार्क रहेका सुनिलले गरेको फितलो प्रहार पोस्टबाट बाहिरियो।
४३औं मिनेटमा सुनिलको पासमा पेनाल्टी क्षेत्रभित्र मनवीर सिंहले सट प्रहार गर्न सकेनन्। दोस्रो हाफको ५७औं मिनेटमा यासिर मोहम्मदको आउटसाइड फुट क्रसमा मनवीर सिंहको हेडरलाई किरण चेम्जोङ अन्तिम समयमा विफल पारे।
८१औं मिनेटमा कर्नरमा सुनिलको हेडर पोस्टभन्दा थोरै माथिबाट बाहिरिएको थियो। ८२औं मिनेटमा फारुख चौधरीको फ्लिक हेडरमा सुनिलले ६ यार्ड बक्स नजिकबाट गरेको प्रहार सिधै गोलमा परिणत भयो।
प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले केहि रक्षात्मक रणनीति अपनाउँदै मनिष डाँगीलाई एकल फरवार्डको रुपमा मैदानमा उतारेका थिए। उनलाई सुमन लामा र सुजल श्रेष्ठले विंगमा साथ दिएका थिए।
दोस्रो हाफमा मनिषको स्थानमा अन्जन विष्टले आक्रमण सम्हाल्ने जिम्मेवारी पाएका थिए। ६० औं मिनेटमा सुजलको स्थानमा सुरजजिउ ठकुरी मैदान प्रवेश गरेका थिए।
यस्तै, ८१ औं मिनेटमा सुमनको स्थानमा आयुष घलानले मैदान छिरेपनि प्रशिक्षक अल्मुताइरीको रणनिति सफल हुन सकेन।
यस जितसँगै भारत ३ खेलमा ५ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ। नेपाल ३ खेलमा ६ अंकसहित दोस्रो स्थानमा छ। गोल संख्यको आधार आयोजक माल्दिभ्स शीर्षस्थानमा उक्लिएको छ।
चौथो स्थानमा ३ खेलमा ४ अंक जोडेको बंगलादेश छ। ४ खेलमा १ अंक जोड्दै श्रीलंका प्रतियोगिताबाट बाहिरिसकेको छ। नेपालले अन्तिम चरणको खेलमा अब बुधबार दिउँसो ४:४५ बजे बंगलादेशसँग खेल्नेछ। रातको ९:४५ बजे माल्दिभ्स र भारत भिड्नेछन्।
अब नेपालले अन्तिम खेलमा बंगलादेशविरुद्ध जित वा बराबरीको नतिजा हासिल गरे फाइनल प्रवेश गर्नेछ। नेपाल बंगलादेशसँग पराजित भए प्रतियोगिताबाट बाहिरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।