काठमाडौं- कप्तान इडेन हाजार्ड र रोमेलु लुकाकुबिनै मैदान उत्रिएको बेल्जियममाथि सहज जित हात पार्दै इटालीले युइएफए नेसन्स लिगमा तेस्रो स्थान हासिल गरेको छ।
एलिएन्ज एरिना टोरिनोमा आइतबार साँझ सम्पन्न खेलमा युरोपेली च्याम्पियन इटालीले घरेलु मैदानमा बेल्जियमलाई २–१ पराजित गरेको हो।
इटालीको जितमा निकोलो बरेल्ला र डोमिनिको बेरारडीले गोल गरे। बेल्जियमका चार्लेस डि केटलारेले एक गोल फर्काएका थिए।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, दोस्रो हाफमा भने तीन गोल भए। ४७औं मिनेटमा बरेल्लाले गोल गर्दै इटालीलाई सुरुवाति अग्रता दिलाए।
६५औं मिनेटमा बेरारडीले पेनाल्टीमा गोल गर्दै इटालीको अग्रता दोब्बर पारे। टिमोथी कास्टाग्नेले फेडरिको चिइसालाई फल गरेपछि रेफ्रीले इटालीलाई पेनाल्टी प्रदान गरेको थियो।
उक्त पेनाल्टीलाई बेरारडीले सदुपयोग गरे। ८६औं मिनेटमा चार्लेस डि केटलारेले गोल गर्दै बेल्जियमलाई खेलमा २–१ को स्थितिमा ल्याए। त्यसपछि गोल निस्किन नसक्दा इटाली २–१ ले विजयी भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।